आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुग्यो

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक शक्ति संघर्ष अन्ततः न्यायिक निरुपणको ढोकामा पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि असन्तुष्ट बनेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत पुगेको हो ।
निर्वाचन आयोगको निर्णयलाई ‘त्रुटिपूर्ण’ ठहर गर्दै देउवा समूहका नेताहरू आयोगको कदमविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू र कानुनविद्हरूको टोली केही बेरअघि अदालत पुगेको हो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको निवर्तमान केन्द्रीय समितिको बैठकले आयोगको निर्णयलाई राजनीतिक र कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो । सोही निर्णयको कार्यान्वयनका लागि पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी लगायतका कानुनविद्हरूसँग परामर्श गरी रिटको मस्यौदा तयार पारिएको थियो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आयोगको निर्णयले पार्टीको विधान र स्थापित लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको दाबी गरे । उनले भने, ‘हामीले विधिको शासन र न्यायका लागि न्यायालयको ढोका ढकढक्याएका हौँ । आयोगको निर्णयमा गम्भीर कानुनी त्रुटि देखिएकाले त्यसलाई बदर गर्न माग गर्दै हामी रिट लिएर आएका छौँ ।’
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई वैधानिकता दिएपछि देउवा पक्ष रक्षात्मक अवस्थामा पुगेको थियो । अब सर्वोच्च अदालतले दिने आदेश वा फैसलाले नै नेपाली कांग्रेसको भावी राजनीतिक दिशा र कुन पक्ष आधिकारिक हो भन्ने अन्तिम फैसला गर्नेछ । रिट दर्ताका लागि आवश्यक प्रक्रिया पुर्याउने काम भइरहेको र छिट्टै दर्ता भई प्रारम्भिक सुनुवाइको मिति तोकिने छ ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









