बैठकका लागि आउन थाले देउवा पक्षका नेताहरू, सानेपाको सुरक्षा व्यवस्था कडा 

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै नेपाली कांग्रेसभित्रको शेरबहादुर देउवा पक्ष रुष्ट बनेको छ । देउवा पक्षले आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै विघटित कार्यसमितिको बैठक बोलाएको छ ।

विघटित केन्द्रीय समितिको बैठक पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ । बैठकमा सहभागी हुन नेताहरू कृष्णप्रसाद सिटौला, रमेश लेखकलगायतका नेताहरू सानेपा पुगिसकेका छन् । निर्वाचन आयोगको पछिल्लो कदम र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न बैठक डाकिएको बुझिएको हो ।

सानेपामा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता रमेश लेखकले निर्वाचन आयोगको शुक्रबारको निर्णयबारे बैठकमा छलफल हुने र त्यसपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताए । उनले भने, ‘हामी आयोगको निर्णय र विकसित राजनीतिक घटनाक्रमबारे छलफलमा छौँ, बैठकले ठोस निष्कर्ष निकाल्नेछ ।’

यता, निर्वाचन आयोगबाट वैधानिकता पाएका सभापति गगन थापाले पनि आजै नयाँ बानेश्वरमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । आयोगको फैसलापछि आफ्नो पक्षलाई बलियो बनाउँदै पार्टी सञ्चालन गर्ने रणनीतिमा थापा समूह देखिएको छ ।

यसअघि शुक्रबार नै पूर्वकार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलनमार्फत निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । आयोगको निर्णयले पार्टीभित्रको संस्थागत संरचनामा गम्भीर प्रश्न उठाएको खड्का पक्षको दाबी छ । अहिले सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =