आधिकारिकता पाएसँगै सभापति थापाले बढाए सक्रिय, बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौं । निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सांगठनिक र रणनीतिक गतिविधि तीव्र पारेका छन् । आधिकारिकताको कानुनी प्रक्रिया पूरा भएपछि सभापति थापाले आज (शनिबार) का लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।
बैठक बिहान ११:३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने तय भएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा हुनुका साथै पार्टीको आगामी कार्यदिशा र रणनीतिबारे छलफल हुने बताइएको छ । पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले शुक्रबार मात्रै निर्वाचन आयोगबाट आधिकारिकताको प्रमाणपत्र पाएका थिए । आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र ‘चारतारे झण्डा’ को आधिकारिक स्वामित्व अब थापा नेतृत्वको कार्यसमितिले पाएको छ ।
यसअघि देउवा पक्षले पनि आफू नै आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिएको भए तापनि आयोगले थापा पक्षलाई नै वैधानिकता दिएको हो । आधिकारिकता पाएसँगै सभापति थापा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने गृहकार्यमा जुटेका छन् । आजको बैठकमा उम्मेदवार छनोटका मापदण्ड र पार्टीभित्रको आन्तरिक व्यवस्थापनका विषयमा पनि ठोस निर्णय हुन सक्ने बुझिएको छ ।
विशेष महाधिवेशनपछि बसेको बिहीबारको बैठकले आधिकारिकताका लागि आवश्यक कागजात आयोगमा पेस गर्ने निर्णय गरेको थियो ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=51' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









