मिश्रित निर्वाचन प्रणाली रहेसम्म खर्च कम गर्न सकिन्न: केशव झा

काठमाडौँ । जनता समाजवादी पार्टी,नेपालका नेता केशव झाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म निर्वाचन खर्च कम गर्न नसकिने बताएका छन् ।

शुक्रवार निर्वाचन आचारसंहिता सम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभा निर्वाचन जित्नको लागी उम्मेदवारले १५ करोड रुपैयाँसम्म खर्च गर्ने गरेको बताए । उनले प्रत्येक निर्वाचनमा खर्चको सिमा बढिरहेको उल्लेख गरे । आयोगले यसपटक निर्वाचन क्षेत्रको आधारमा २९ लाखदेखि ३३ लाख रुपैयाँ सम्मको खर्चसिमा तोकिएको भएपनि यसलाई लागू गर्न नसकिने बताए ।

उनले भने ‘निर्वाचन आचारसंहिता बनाउँदाखेरि कठिन हुने खालको बनाउनु हुँदैन । केही कुरा त एकदमै कठिन हुने खालको नै छ । एकातिर हामीले यो निर्वाचन खर्च कसरी घटाउने भन्छौँ । यद्यपि मेरो यसमा प्रस्ट मान्यता त के छ भने मिश्रित निर्वाचन प्रणाली हुन्जेलसम्म हामीले जति कोसिस गरेपनि यो निर्वाचन खर्च घटाउन सकिँदैन । यो बढेको बढ्यै हुन्छ । यसपालि पनि २९ लाखदेखि ३३ लाखसम्मको निर्वाचन क्षेत्रअनुसारको खर्च सीमा तोकिएको छ । यहाँहरूले कसरी यो हेर्नुहुन्छ, थाहा छैन । तर जित्ने ठाउँमा त ५/१० करोड खर्च हुन्छ, जित्नेले त्यो खर्च गर्छन् । हरेक निर्वाचनमा प्रतिनिधिसभा जित्नको लागी १५ करोडसम्म खर्च भइरहेको छ ।’

उनले निर्वाचन आचारसंहिता बनाउँदा कार्यान्वयन हुने खालको बनाउनुपर्नेमा जोड दिए । उनले कठिन आचारसंहिता बनाउँदा कार्यान्वयन गर्न नसकिएकोतर्फ ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =