लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका उनले यस्तो बताएका हुन् ।

उनले बहुमत केन्द्रीय सदस्यहरु अहिले पनि आफूसँग रहेको भन्दै निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताए । निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने उनले बताए । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भए पनि विशेष महाधिवेशनको कार्यसूची, कार्यतालिका र कार्यविधिहरु केन्द्रीय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गरे । कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी उनले गरे ।

उनले भने, ‘हामी यहाँ आउनै नपर्ने जस्तो मलाई लाग्छ । तर सञ्चारमाध्यमहरुले हामीलाई बाध्य बनाइदिए । उनीहरुले निर्णय गर्न मिल्छ ? देशको निम्ति, नेपाली कांग्रेसको निम्ति यो परिस्थिति आएको छ । लोकतान्त्रिक पद्धतिअनुसार निर्णय गर्नुहुनेछ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यसूची, कार्यतालिका, कार्यविधि सबै केन्द्रीय समितिले बनाउनुपर्छ भन्ने कुरा स्पष्ट रुपमा विधानले भनेको छ । नेपाली कांग्रेसका सिंगो केन्द्रीय सदस्यहरु यहीँ हुनुहुन्छ । केही चोइटिएर जानुभएको होला । तर सिंगो केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ । कसैलाई, कुनै पदाधिकारी वा विशेष अधिवेशन बोलाउने अधिकार छ कि छैन, नेपाली कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन । आज टुँडिखेलमा गईकन कुनै निर्वाचन आयुक्तले ६ गते निर्वाचनको नोमिनेसन हुँदैन भन्यो भने निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ? यो गम्भीर विषय हो । यो कुरा सोच्नुपर्छ । व्यक्ति होइन संस्था खोजेको हो । संस्थालाई हेरेर अघि बढ्नुपर्छ । जुन साथीहरुको हस्ताक्षर तपाईंहरुलाई पनि आएको होला । ती हस्ताक्षर फिर्ता भएको निस्सा तपाईंहरुलाई प्रस्तुत गर्नेछौँ ।’

उनले महाधिवेशनमा गएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरुले उक्त महाधिवेशनबाट आफूहरु फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको जानकारी दिए । आयोगलाई उक्त हस्ताक्षरसहितको प्रमाण पनि पार्टीले पेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =