गालीको राजनीति र यदुवंशी विनाशले न पार्टी बन्छ, न मुलुक : डा. चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र बढ्दो आन्तरिक कलह र संस्कारहीन राजनीतिक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेता भण्डारीले गाली-गलौजलाई नै राजनीतिको पर्याय मान्ने ‘रोगी प्रवृत्ति’ ले लोकतन्त्र र दल दुवैलाई कमजोर बनाउने चेतावनी दिएका हुन् ।
पार्टीभित्रको आन्तरिक खिचातानी र ध्रुवीकरणलाई ‘दुईवटा रेल’ को उपमा दिँदै उनले अहिलेकै शैली कायम रहे दुवै रेल अन्ततः यात्रुविहीन हुने सङ्केत गरे । ‘एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो, तर यात्रु बोलाउँदा-बोलाउँदै रेल हिँडिसक्यो,’ भण्डारीले भनेका छन् , ‘यही तरिकाले अघि बढ्दा भोलि दुवै रेल रित्तो हुन सक्छन् , त्यसपछि मात्र ‘सँगै हिँडौँ’ भन्ने भावनाको महत्त्व बोध हुनेछ ।’
आफूमाथि लागेका आलोचनाहरूको प्रतिवाद गर्दै उनले आफ्नो विगतको भूमिका स्मरण गराएका छन् । विगतमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा जस्ता शीर्ष नेताहरूबीचको कठिन समन्वयमा आफूले निस्वार्थ भूमिका खेलेको उल्लेख गर्दै उनले अहिलेको राजनीतिक वातावरण विकृत बनेको बताए । उनले वर्तमान समयमा सत्य र असत्य छुट्याउने विवेक हराउँदै गएकोमा समेत प्रश्न उठाएका छन् ।
नेपालको शैक्षिक पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशामाथि नै प्रश्न उठाउँदै भण्डारीले भनेका छन् , ‘सत्य नबुझी र जिम्मेवारी नबोकी गालीलाई मात्र राजनीति ठान्ने प्रवृत्तिले पार्टी र मुलुक बन्दैन । निर्वाचनको मुखमा आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्नु भ्रम मात्र हो ।’
नेता भण्डारीले पार्टीभित्र देखिएको वर्तमान विवादलाई ‘यदुवंशी विनाश’ को संज्ञा दिँदै अझै पनि समय बाँकी रहेकाले विवेकपूर्ण निर्णय लिन आग्रह गरेका छन् । सत्य, अनुशासन र जिम्मेवारीबिना लोकतन्त्र सुरक्षित नरहने जिकिर गर्दै उनले विनाशको बाटो त्यागेर निर्माणको बाटो रोज्न सबैलाई आह्वान गरेका छन् । आफ्नो सन्देशको अन्त्यमा उनले आत्मालोचना गर्दै भनेका छन्, ‘मनन् गरौं – दोषी हामी सबै छौं !’









