सुडानमा जारी द्वन्द्वका क्रममा लुटिएका ५७० पुरातात्विक सामग्रीहरू पुनः प्राप्त

काठमाडौं । सुडानी अधिकारीहरूले हालैका दिनहरूमा देशका विभिन्न भागहरू र सीमावर्ती क्षेत्रहरूबाट लुटिएका ५७० वटा पुरातात्विक सामग्रीहरू बरामद गरिएको घोषणा गरेका छन् ।
यी ऐतिहासिक वस्तुहरू खार्तुमस्थित राष्ट्रिय संग्रहालय र अन्य महत्वपूर्ण सांस्कृतिक स्थलहरूबाट सशस्त्र द्वन्द्वको क्रममा चोरी भएका थिए । बरामद गरिएका कलाकृतिहरूमा प्राचीन कुश साम्राज्य र मेरोए कालका दुर्लभ सिक्काहरू, मूर्तिहरू र माटोका भाँडाहरू समावेश छन् ।
अनुसन्धानका अनुसार तस्करहरूले यी बहुमूल्य सम्पदाहरूलाई अन्तर्राष्ट्रिय कालो बजारमा पु¥याउने प्रयास गरिरहेका थिए । जसलाई सुरक्षा निकाय र पुरातत्व विभागको सक्रियताले विफल तुल्याएको छ । हाल यी सबै सामग्रीहरूलाई कडा सुरक्षाका साथ सुरक्षित स्थानमा राखिएको छ ।
अधिकारीहरूका अनुसार हराइरहेका अन्य हजारौं कलाकृतिहरूको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) र युनेस्कोसँग समन्वय भइरहेको छ ।








