नसर्ने रोगको रोकथाम सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री डा गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्व एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नसर्ने रोगको उपचार लागत बढ्दो अवस्थामा रहेकाले सरकारमाथि ठूलो आर्थिक भार पारिरहेको समेत बताइन् ।
‘सरकारले नसर्ने रोगको उपचारमा धेरै रकम खर्च गरिरहेको छ, त्यसमा धेरैजसो रकम रोकथामको सट्टा उपचारमै खर्च भइरहेको अवस्था छ’, मन्त्री डा गौतमले भनिन्, ‘क्यान्सर र मुटु रोगजस्ता रोगहरूको उपचारमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिन्छ, अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।’
उनले नसर्ने रोगको रोकथामलाई सुदृढ गर्न दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने बताइन् ।
सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवाहरू उपलब्ध भए पनि ग्रामीण र गरिब जनसङ्ख्याले उपचार सेवा नपाइरहेको उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य समस्या नदेखिने महामारीका रूपमा देखापरेको बताइन् । उनले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यानजस्ता रोकथामका उपायहरूलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पुर्यारहेको बताइन् ।
डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोगको रोकथामका लागि सरकारले बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिइन् ।
नसर्ने रोग ‘एनसिडी’ एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको रोकथाम गर्न राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा भारत श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्याण्ड, म्यान्मार, मलेसिया जेनेभालगायत ११ देशमा नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्को सहभागी रहेको छ ।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेको अनुमान गरिएको छ ।









