विशेष महाधिवेशनबाट नीति मात्रै पास हुन्छः सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् ।

सोमवार काठमाडौँमा डा. शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

आइतबारबाट नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरूले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए । शेखर कोइरालाले आत्मसमर्पण गर्नुभयो भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरूसँग आफूले पहल गर्ने कोइरालाले बताएको जानकारी दिए।

नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरूको माग हाइज्याक भएको बताए ।

उनले भने ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढङ्गले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’

उनले डा। शेखर कोइराला काँग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला काँग्रेसको सभापति बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =