विशेष महाधिवेशनमा सभापति देउवा जाने चर्चा भ्रामक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा जारी ‘विशेष महाधिवेशन’को बन्दसत्रमा सहभागी हुने भनी सामाजिक सञ्जालमा फैलाइएको चर्चाको उनको सचिवालयले औपचारिक खण्डन गरेको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार एक प्रेस नोट जारी गर्दै उक्त कार्यक्रममा सभापति सहभागी हुने कुनै पनि कार्यतालिका नरहेको स्पष्ट पारेका हुन् ।
केही व्यक्तिहरूले राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरेको सचिवालयको ठहर छ । ‘केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जानुहुने भनी गलत सूचना सम्प्रेषण गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वकीय सचिव देउवाद्वारा जारी स्पष्टीकरणमा भनिएको छ, ‘उक्त कार्यक्रममा सभापतिज्यू जाने कुनै पनि कार्यक्रम नरहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’
पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले आइतबारदेखि भृकुटीमण्डपमा भेला आयोजना गरेको छ । सोही कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका रहेको छ ।
यसअघि आइतबारको उद्घाटन सत्रलाई सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्दसत्रमा सहभागी भई विशेष महाधिवेशनलाई अपनत्व ग्रहण गर्न आग्रह गरेका थिए । उनीहरूले सभापतिको उपस्थितिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो हुने तर्क गरेका थिए । तर, संस्थापन पक्षले भने यस्ता प्रचारलाई निराधार र भ्रामक भन्दै आएको छ । हाल भृकुटीमण्डपमा बन्दसत्रका लागि तयारी भइरहेको छ ।









