मेचीनगरमा प्रथम भक्का उत्सव

झापा । मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् ।

मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भक्का उत्सवमा पाँच सय किलो चामलको पिठोको भक्का बनाइएको हो ।

रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भक्कालाई प्रवर्धन र सम्बद्र्धन गर्ने उद्देश्यले भक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताए ।

भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भक्का उत्सवले पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताए । उनले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोबास रहेको जानकारी दिए ।

नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भक्काका परिवारका बनाएका छन् ।

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भक्का खाने पुरानो चलन हो । धानको पीठोबाट बनाइएको भक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ ।

मङ्सिरबाट जिल्लाका काँकरभिट्टा, इँटाभट्ट, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन् ।

पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका–७ वडाध्यक्ष प्रल्लाद ओलीले बताए । उनका अनुसार जिल्लाभरका राजवंशी समुदायले यही पुस २९ गतेलाई भक्का दिवसका रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =