देउवालाई भेटेर शेखरले भने– पार्टी फुट्दै छ, लचकता अपनाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको बढ्दो विवाद अन्त्य गर्न र एकताका लागि पहल लिन आग्रह गरेका छन् ।
बिहीबार बिहान देउवा निवास महाराजगञ्ज पुगेका कोइरालाले पार्टीमा विभाजनको खतरा रहेको भन्दै निकास खोज्न सभापतिसँग लचकता अपनाउन अनुरोध गरेका हुन् ।
भेटबारे जानकार पार्टी स्रोतका अनुसार कोइरालाले ‘को नेता बन्ने भन्दा पनि पार्टी एकता अहिलेको प्रमुख आवश्यकता हो’ भन्दै देउवालाई जिम्मेवार भूमिका खेल्न सुझाएका थिए ।
पार्टीभित्र पछिल्लो समय विशेष महाधिवेशनको विषयले ठूलो विवाद निम्त्याएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका छन् भने अर्कोतर्फ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानअनुसार विशेष महाधिवेशन आह्वान नभएको भन्दै त्यसमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
यो प्रकरणले कांग्रेसलाई औपचारिक रूपमा दुई खेमामा विभाजित गरेको देखिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रियालाई अवैध ठहर गर्दै आएको छ भने संस्थापनइतर पक्षले नेतृत्व परिवर्तनका लागि दबाब बढाइरहेको छ ।
डा. शेखर कोइराला यसअघि पनि पार्टी एकताका लागि मध्यस्थकर्ताको भूमिकामा देखिँदै आएका छन् ।








