कांग्रेसमा ‘विशेष महाधिवेशन’को महाभारत, देउवा तर्सिंदा गगन-विश्व आक्रामक

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउने विषयलाई लिएर संस्थापन पक्ष र महामन्त्रीहरूबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । यही विवाद र रस्साकस्सीका बीच आज (बुधबार) पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे बोलाइएको बैठकमा महाधिवेशनको विवाद नै मुख्य एजेन्डा बनेको छ । विशेष महाधिवेशन बोलाउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कडा आपत्ति जनाउँदै आएको छ भने महामन्त्रीहरू विधानको बाध्यात्मक व्यवस्था भन्दै पछि नहट्ने अडानमा छन् ।
हस्ताक्षर फिर्ता गराउनेदेखि ‘क्याम्पेन’ चलाउनेसम्म
विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर केन्द्रीय कार्यालयमा दर्ता भएको थियो । विधानअनुसार तीन महिनाभित्र (२८ पुससम्म) विशेष महाधिवेशन बोलाउनुपर्ने समयसीमा छ । नियमित महाधिवेशन तत्काल नहुने देखेपछि महामन्त्रीद्वय थापा र शर्माले आगामी २७-२८ पुसमा काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी थालेका छन् ।
यता, संस्थापन पक्षले भने विशेष महाधिवेशन रोक्न साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेको आरोप महामन्त्री पक्षको छ । संस्थापनले शुक्रबारको कार्यसम्पादन समितिको निर्णयलाई आधार मान्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको तर्क अघि सारेको छ । बैठकले २१ फागुनको आम निर्वाचनपछि आगामी २८-३१ वैशाखमा १५औं महाधिवेशन गर्ने तालिका पास गरिसकेको छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले मातहतका कमिटीहरूलाई परिपत्र गर्दै निर्वाचनमा जुट्न निर्देशन दिइसकेका छन् । त्यस्तै, सातै प्रदेशका सभापतिहरूमध्ये ५ जना (कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम) ले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले विशेष महाधिवेशनले पार्टी फुट्ने त्रास देखाउँदै प्रतिनिधिहरूलाई काठमाडौं नआउन दबाब दिइरहेका छन् ।
अर्कोतर्फ, महामन्त्री पक्षधरले भने ‘फोड्न होइन, जोड्न’ भन्दै सामाजिक सञ्जाल र भेलामार्फत आक्रामक प्रचार अभियान थालेका छन् । ‘बहुमतको दम्भ तोड्न र एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउन’ भन्दै उनीहरूले विशेष महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरिसकेका छन् । प्रचार समितिका संयोजक सुवास पोखरेलका अनुसार सभापति तयार नभए बुधबारसम्म महामन्त्रीहरूले नै पत्रकार सम्मेलन गरेर औपचारिक आह्वान गर्ने तयारी भइरहेको छ ।
मध्यमार्गी बाटोको खोजी र नेतृत्वको त्रास
महामन्त्रीहरूले बोलाउने विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भए नेतृत्व नै परिवर्तन हुन सक्ने भय संस्थापन पक्षमा देखिएको छ । ४० प्रतिशतभन्दा कम प्रतिनिधि उपस्थित गराएर महाधिवेशन तुहाउने रणनीतिमा देउवा पक्ष लागेको छ । महामन्त्री थापा निकट स्रोतका अनुसार बहुमत पुगे नीति र नेतृत्व दुवै बदल्ने, नपुगे नीति र एजेन्डामा मात्र केन्द्रित हुने आन्तरिक तयारी छ ।
द्वन्द्व बढ्दै जाँदा दोस्रो तहका नेताहरूले सहमतिको मध्यमार्गी बाटो खोजिरहेका छन् । नेतृ डिला संग्रौला लगायतका ३० जना केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई ‘घोषणासभा’, ‘संकल्प’ वा ‘नीति अधिवेशन’मा रूपान्तरण गर्न नेता शेखर कोइरालामार्फत पहल गरिरहेका छन् । तर, सभापति देउवा र संस्थापन पक्ष यो विकल्पमा पनि लचिलो देखिएका छैनन् । महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ‘विशेष महाधिवेशनले पार्टी विभाजन हुने भए विधानमा त्यस्तो व्यवस्था किन राखिन्थ्यो ? देश संविधानअनुसार र पार्टी विधानअनुसार चल्नुपर्छ ।’
पार्टीभित्रको विवाद सडकमा पोखिँदा मंगलबार अप्रिय घटना घटेको छ । कार्यसम्पादन समितिको बैठकमा भाग लिन सानेपा पुगेका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताको एक समूहले दुर्व्यवहार गरेको छ । गाडी घेराउ गर्दै नाराबाजी गरेपछि निधि र कार्यकर्ताबीच चर्काचर्की परेको थियो । निधिले आफूलाई गालीगलौज गरिएको भन्दै आक्रोश पोखेका छन् । यद्यपि, विशेष महाधिवेशन पक्षधर नेताहरूले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै छानबिनको माग गरेका छन् ।









