कांग्रेस कार्यालयमा हंगामाः विशेष महाधिवेशन पक्षधरले निधिलाई घेरेर गरे नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका असन्तुष्ट कार्यकर्ताहरूले पूर्वउपसभापति विमलेन्द्र निधिलाई पार्टी केन्द्रीय कार्यालयमा घेरेर नाराबाजी गरेका छन् । विशेष महाधिवेशनलाई अवरोध गरेको आरोप लगाउँदै कार्यकर्ताहरू निधिमाथि खनिएका थिए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपामा पुगेका निधिलाई पूर्वपट्टिको गेटबाट भित्र छिर्नासाथ कार्यकर्ताहरूले घेरेका थिए । प्रहरीले असन्तुष्ट पक्षलाई अघि बढ्न रोके पनि नाराबाजी जारी रहेको थियो ।
त्यसपछि निधि पनि प्रतिवादमा उत्रिएका थिए । ‘तँ को होस् ?’ भन्दै उनले कार्यकर्ताहरूविरुद्ध कडा जवाफ फर्काएका थिए ।
पार्टी बैठकमा प्रवेश गर्न खोज्दा आफूमाथि दुव्र्यवहार भएको निधिले बताए । ‘पार्टी कार्यालयको पूर्वपट्टिको बाहिरी गेटमा घेरेर बसेका थिए । मलाई घेरेर गाडी जान दिएनन् । हिँडेर भित्र पस्न लाग्दा चारैतिर घेरा हालियो । गाडीको हुटमा टाँसिएर मलाई गाली गर्न थाले,’ निधिले भने, ‘डराउने कुरा भएन । तीमध्ये कसैले नुवाकोटको भन्थे । मैले तँ को होस् ? यस्तो बोल्ने कांग्रेस हुन सक्दैनन् ।’
निधिले विशेष महाधिवेशनको विषयमा शान्त वातावरणमा छलफल गर्न सकिने बताए । ‘तर एकैचोटि विमलेन्द्र निधि मुर्दाबाद भन्दै नानाभाँती बोल्न थाले,’ उनले थपे ।









