चार पटक सांसद जितेका बृजेश कुमार गुप्ताले छाडे एमाले

काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चार पटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
एमाले नेतृत्व सुध्रिने लक्षण नदेखिएपछि पार्टी छाड्ने निर्णय गरेको गुप्ताले बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दमन गरेको तथा दुई ठूला दल मिलेर जे पनि गर्न पाइने दम्भ देखाएका कारण एमाले छाड्नु परेको उनले बताए ।
पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले एमाले नेतृत्वको मुख्य ध्यान भ्रष्टाचारलाई संरक्षण दिनेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।
‘पार्टी नेतृत्वको ध्यान, गतिविधि र संस्कार नै भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई जोगाउने तर सुशासन नदिने देखियो, त्यसैले पार्टी छाड्न बाध्य भएँ,’ गुप्ताले भने, ‘नेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती–कमजोरी कहिल्यै नस्वीकार्ने प्रवृत्ति पटक–पटक देखियो, अनि राजीनामा दिएको हुँ ।’
गुप्ताले आफू भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र हालैको महाधिवेशनमा पनि सहभागी नभएको जानकारी दिए ।
राजनीति नै गर्ने हो भनेर अब कुन दलमा जाने भन्ने विषयमा आफ्नो क्षेत्रका मतदाता तथा शुभेच्छुकहरूसँग सल्लाह गरिरहेको उनले बताए । उनले विभिन्न दलहरूबाट प्रस्ताव आए पनि अझै कतै नलागेको स्पष्ट पारे ।









