कांग्रेस बैठकको समय परिवर्तन, राष्ट्रियसभाको उम्मेदवारी र तालमेलबारे निर्णय लिइने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा दलहरूबीचको दौडधुप तीव्र बनेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समय सरेको छ । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा पछि सारिएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै विशेष कारणवश बैठकको समय हेरफेर गरिएको र अब दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन र चुनावी तालमेलको रणनीति बनाउन कांग्रेसले यो बैठक बोलाएको हो । विशेष गरी कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच साझा उम्मेदवार वा चुनावी तालमेल गर्ने विषयमा अनौपचारिक सहमति नजिक पुगेकाले त्यसलाई मूर्तरूप दिन बैठकमा छलफल हुने बुझिएको छ ।
सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्य दलसँग भइरहेको संवादबारे ‘ब्रिफिङ’ गरेका थिए । उक्त बैठक लगत्तै खड्का र नेता रमेश लेखक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए । दलहरूबीचको यही सघन संवाद र सहमतिको प्रयासका कारण मंगलबारको बैठक केही पर धकेलिएको अनुमान गरिएको छ ।








