काठमाडौंमा जाडो बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको वायुमण्डल चिसिएसँगै सोमबार यो वर्षकै सर्वाधिक जाडो महसुस गरिएको छ । पछिल्ला केही दिनयता लगातार ओरालो लागेको तापक्रम सोमबार न्यूनतम विन्दुमा झरेपछि उपत्यकाबासीले कडा चिसोको सामना गर्नुपरेको हो ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार, देशैभर चिसो बढ्ने क्रममा रहे पनि काठमाडौं उपत्यकामा आज यो वर्षकै कम तापक्रम रेकर्ड भएको छ । मौसमविद् बिनु महर्जनका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको छ । अझ ललितपुरको सानेपा क्षेत्रमा त तापक्रम ३.३ डिग्री सेल्सियससम्म गिरेको विभागले जनाएको छ ।

आइतबारदेखि नै उपत्यकामा घामको उपस्थिति कमजोर बन्दै गएको छ । बिहानैदेखि धुम्म मौसम र चिसो हावाका कारण सर्वसाधारणले बाक्लो लुगा लगाउँदा पनि जाडो छल्न मुस्किल परेको छ ।

बढ्दो चिसोलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र न्यानोमा बस्न सुझाएको छ। विशेषगरी बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू चिसोको उच्च जोखिममा हुने भन्दै उनीहरूको स्वास्थ्यमा विशेष ख्याल पुर्‍याउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =