टिकटक विवादले मधेश तनावग्रस्त: जनकपुरदेखि वीरगञ्जसम्म प्रदर्शन

काठमाडौं । टिकटकमा धार्मिक भावनालाई आहत पार्ने अभद्र टिप्पणी गरेको आरोपमा मधेश प्रदेशमा तनाव बढेको छ ।

धनुषाको जनकपुरबाट सुरु भएको यो विवादको असर पर्साको वीरगञ्जसम्म पुगेको छ भने प्रदर्शन र झडपका घटनाहरू बढ्दै गएका छन् ।

स्रोतका अनुसार केही दिनअघि जनकपुरका हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा ‘हिन्दुस्तान’को नाम लिँदै धार्मिक सहिष्णुता विपरीतको भिडियो पोस्ट गरेका थिए । यो भिडियोले धार्मिक भावनामा ठेस पुगेको भन्दै स्थानीय अगुवाहरूले ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेका बेला युवाहरूलाई पक्राउ गरिएको भन्दै केही समूह आक्रोशित बने । त्यही क्रममा जनकपुरमा एक मस्जिदमा आक्रमणसमेत भएको बताइएको छ ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार मस्जिद आक्रमणमा संलग्न व्यक्तिहरूलाई पनि पक्राउ गरिएको छ । तर यो घटनाले धनुषा र पर्सासहित मधेश प्रदेशका आठवटै जिल्लामा तनाव फैलिएको छ । उच्च सुरक्षा स्रोतले संवेदनशील परिस्थितिका कारण सुरक्षा सतर्कता बढाइएको जनाएको छ ।

यो विवादको प्रभाव वीरगञ्जमा पनि देखिएको छ । आज बिहानैदेखि वीरगञ्जमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिने जोखिम बढेपछि प्रहरीले थप बल परिचालन गरेको छ । मधेश प्रदेशमा धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =