भेनेजुएलाका राष्ट्रपतिको गिरफ्तारी राष्ट्रसंघीय बडापत्रको ठाडो उल्लंघन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको घटनाप्रति कडा आपत्ति जनाएका छन् । महासचिव पोखरेलले अमेरिकी उक्त कदमलाई संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको उपहासको संज्ञा दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले एक सार्वभौम देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य बल प्रयोग गरी नियन्त्रणमा लिनु आधुनिक विश्वका लागि लज्जाको विषय भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्यले संयुक्त राष्ट्रसंघ लगायतका विश्व संस्थाहरूको औचित्य नै समाप्त पार्ने जोखिम बढाएको छ ।’









