एकता सन्देश बोकेर आज दिल्ली जाँदै प्रचण्ड

काठमाडौं । ‘जेनजी आन्दोलन’ को रापताप र राजनीतिक ध्रुवीकरणपछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरूको एकतापछि संयोजक बनेका प्रचण्डको यो पहिलो औपचारिक भारत भ्रमण हो ।
उनी आज साँझ दिल्ली उड्ने कार्यक्रम तय भएको छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, यो भ्रमण नितान्त पार्टी एकतापछिको सन्देश प्रवाहमा केन्द्रित छ । दिल्लीमा रहेका तत्कालीन माओवादी र एकीकृत समाजवादी निकटका प्रवासी नेपाली संगठनहरूले आयोजना गरेको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।
सचिव आचार्यले भने, ‘यो कुनै आकस्मिक भ्रमण होइन, एक महिनाअघि नै तय भएको कार्यक्रम हो। प्रवासी नेपालीहरूमाझ पार्टी एकताको सन्देश पुर्याउन उहाँ दिल्ली जान लाग्नुभएको हो ।’
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा प्रचण्डको दिल्ली यात्रालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । तर, प्रचण्डको सचिवालयले भने दिल्ली बसाइका क्रममा कुनै पनि उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यतालिका नरहेको दाबी गरेको छ । सन्देश सभालाई सम्बोधन गरेर संयोजक प्रचण्ड सोमबार (भोलि) साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।









