ललितपुरमा अनियन्त्रित टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गत थसिखेल क्षेत्रमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । तीव्र गतिको टिपरले ठक्कर दिँदा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, बिहीबार राति करिब ९:३० बजे एकान्तकुनाबाट महालक्ष्मीस्थानतर्फ गइरहेको बा ४ ख १४७० नम्बरको टिपरले सिलवाललाई ठक्कर दिएको थियो ।

घटनालगत्तै गम्भीर घाइते भएका सिलवाललाई तत्काल उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍यानासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले घटनाको पुष्टि गर्दै मृतकको शव अस्पतालमा राखिएको जानकारी दिए ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका-६ स्थायी घर भएका ३८ वर्षीय सोवित कुमार श्रेष्ठ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =