ज्ञवालीलाई पोखरेलको चेतावनी- ‘आग्रहप्रेरित कटाक्ष बन्द गर्नुस्’

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन भर्खरै सम्पन्न भए पनि नेताहरूबीचको तिक्तता भने सेलाएको छैन । महाधिवेशनबाट अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेल र नवनिर्वाचित केन्द्रीय सदस्य प्रदीप ज्ञवालीबीच सामाजिक सञ्जालमा ‘अघोषित जुहारी’ चलेको छ ।

पोखरेलले नेता ज्ञवालीलाई लक्षित गर्दै ‘आग्रहप्रेरित कटाक्ष’ गरेर पार्टीलाई कुनै लाभ नहुने चेतावनी दिएका छन् । महाधिवेशन सकिएलगत्तै पोखरेल पक्षले काठमाडौंमा आयोजना गरेको एक भेलालाई लिएर ज्ञवालीले कडा टिप्पणी गरेका थिए । ज्ञवालीले महाधिवेशनको फैसला नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा परिणत हुने भन्दै पोखरेल पक्षको आलोचना गरेका थिए ।

ज्ञवालीको सोही अभिव्यक्तिको जवाफ फर्काउँदै पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत कडा प्रतिक्रिया जनाएका हुन् । यद्यपि, दुवै नेताले आ-आफ्ना भनाइमा एक-अर्काको नाम भने किटेका छैनन् । पोखरेलले आफ्नो समूहको भेलालाई ‘प्रतिस्पर्धी समूहमा रहेका साथीहरूबीचको सामान्य बिदाइ तथा छलफल’ को संज्ञा दिएका छन् । उनले ज्ञवालीको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै लेखेका छन्, ‘कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्‍याउने विषय नभएर नोक्सान मात्र पुर्‍याउने विषय हुन् । अनावश्यक तरंगित नबनौँ ।’

नेता पोखरेलले पार्टीभित्र कार्यकर्ताले आत्मसमर्पण नभई आत्मसम्मान खोज्ने बताएका छन् । विगतका गुटबन्दी र विवादको ‘भूत’ बाट तर्सिनु आवश्यक नरहेको उल्लेख गर्दै उनले संस्थागत निर्णयको विरोध नगर्ने तर विभेद सह्य नहुने संकेत गरेका छन् । ‘हरेक तहका नेता/कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्; कसैलाई काखा, कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन्,’ पोखरेलले स्टाटसमा लेखेका छन्, ‘त्यस्तो नहुँदा वा हुन नसक्दा त्यसप्रति असहमति वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न ।’

उनले महाधिवेशनमा नेतृत्वबाट सर्वसम्मतिका लागि ठोस पहल नभएको र खास-खास नेतालाई विदा गर्ने पूर्वयोजना देखिएको गुनासो समेत गरेका छन् । पोखरेलले विधि र प्रक्रियासम्मत निर्णयहरूको नि:शर्त पालना गर्ने प्रतिबद्धता जनाउँदै पार्टी एकताका लागि सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =