योग र ध्यानले भ्रष्टाचार हट्नसक्छ : शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समाजमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि योग र ध्यान अचूक माध्यम बन्न सक्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको मन शुद्ध नभएसम्म समाजबाट बेथिति नहट्ने धारणा राखेका हुन् ।
मन्त्री पुनले लोभ, लालसा र घमण्ड नै भ्रष्टाचार मौलाउने मुख्य कारण रहेको औंल्याए । भ्रष्टाचार नियन्त्रणका लागि मेडिकल विज्ञानमा कुनै ‘क्याप्सुल’ वा औषधि नबनेको प्रसंग कोट्याउँदै उनले योग र ध्यान नै यसको एकमात्र विकल्प भएको जिकिर गरे । सम्बोधनका क्रममा उनले भने, ‘जति पनि भ्रष्टाचारी छन्, उनीहरूको मन शुद्ध छैन । उनीहरूमा घमण्ड र लोभको मात्रा अत्यधिक छ । यस्ता विकृति हटाउन कुनै औषधिले काम गर्दैन, त्यसैले योग र ध्यानलाई नै समाजको टोल–टोलमा फैलाउनु आवश्यक छ ।’
भ्रष्टाचारमुक्त समाज निर्माणका लागि विद्यालय तहबाटै सुधारको थालनी गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए । उनले विद्यालयहरूमा योग र ध्यानलाई अतिरिक्त क्रियाकलापका रूपमा समावेश गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिए । विशेषगरी शुक्रबारको दिनलाई किताबी ज्ञानमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापको दिनका रूपमा विकास गर्ने र त्यसमा योग अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
‘योग भनेको पढाउने विषय होइन, यो त अभ्यास गराउने विषय हो,’ उनले भने, ‘त्यसैले अब हरेक विद्यालयले शुक्रबारका दिन विद्यार्थीहरूलाई व्यवहारिक रूपमै योग र ध्यान गराउनुपर्छ ।’ उनले मनलाई शान्त र शुद्ध बनाउन सके मात्र समुन्नत समाज निर्माण हुने भन्दै गाउँगाउँमा योग अभियान चलाउन सबैलाई आग्रह समेत गरे ।









