परम्परागत चिकित्सा पद्धति सरकारको मुख्य प्राथमिकतामा : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले अभिन्न अंग र महत्त्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छन् । विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो धारणा राखेकी हुन् ।

परम्परागत चिकित्सा पद्धतिको नेतृत्व गर्ने निकाय नभएको भन्दै बेला-बखत उठ्ने गुनासोलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालयले नै यसको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको स्पष्ट पारिन् । ‘परम्परागत चिकित्सा पद्धतिका बारेमा कुनै पनि मन्त्रालयको नेतृत्व भएन, नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्ने खालका कुरा पनि आए,’ उनले भनिन्, ‘तर, यस पद्धतिलाई स्वास्थ्य मन्त्रालयले एक महत्त्वपूर्ण अंगका रूपमा अघि बढाएको छ ।’

मन्त्री गौतमले आयुर्वेद र परम्परागत चिकित्साका लागि सरकारले यथोचित बजेट विनियोजन गरेको जिकिर गरिन् । सरकारको राष्ट्रिय नीति, स्वास्थ्य नीति तथा पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा समेत आयुर्वेदका कार्यक्रमहरूलाई प्राथमिकताका साथ समेटिएको उनले उल्लेख गरिन् ।

देशभर सयौँको संख्यामा आयुर्वेद चिकित्सालयहरू रहेको र हजारौँ स्वास्थ्यकर्मी यस क्षेत्रमा कार्यरत रहेको तथ्यांक प्रस्तुत गर्दै उनले भनिन्, ‘यससम्बन्धी थप जानकारी लिन चाहनेले आयुर्वेद विभागबाट लिन सक्नुहुनेछ ।’ आयुर्वेद, योग, ध्यान तथा धामी-झाँक्री परम्परालाई समेत परम्परागत चिकित्सा पद्धतिको दायरामा राखिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =