भारत जाँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन् । चारदिने भ्रमणका लागि उनी आज भारततर्फ लागेका हुन् । डा. भट्टराई आगामी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा डा. भट्टराईले भारतका दुई प्रतिष्ठित मञ्चमा आफ्नो धारणा राख्नेछन् । उनले मुम्बईस्थित प्रसिद्ध शिक्षण संस्था ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी’ (आईआईटी) मा आयोजना हुने ‘टेकफेस्ट’ मा विशेष वक्ताका रूपमा सहभागिता जनाउनेछन् । त्यहाँ उनले ‘दक्षिण एसियाको लोकतान्त्रिक भविष्य : युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयमा विद्वत् प्रवचन दिने कार्यक्रम तय भएको छ ।

त्यस्तै, डा. भट्टराईले नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा पनि सम्बोधन गर्नेछन् । ‘साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ’ ले आयोजना गर्ने उक्त विशेष समारोहमा उनी प्रमुख वक्ताका रूपमा उपस्थित हुनेछन् ।

यी औपचारिक कार्यक्रमका अलावा पूर्वप्रधानमन्त्री भट्टराईले भारत बसाइका क्रममा त्यहाँका कूटनीतिक व्यक्तित्व, बौद्धिक समुदाय र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन् । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम, क्षेत्रीय सहकार्य र समसामयिक लोकतान्त्रिक अभ्यासका विषयमा छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =