रुपनी शाखाका कर्मचारीमाथि ऋणीको फर्ममा नियोजित आक्रमण भयो: ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना कर्मचारीमाथि भएको गम्भीर आक्रमणको भत्र्सना गरेको छ ।
बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक तथा निजका परिवार र सहयोगीहरूले बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्देश्यले दुव्र्यवहार तथा आक्रमण गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार, कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न टेलिफोनमा कुराकानी भएबमोजिम क्षेत्रीय कार्यालय बर्दिबासका दुई कर्मचारी ऋणीसँग वार्ताका लागि फर्ममा पुगेका थिए । तर, त्यहाँ पुगेपछि फर्मका सञ्चालक, परिवारका सदस्य र सहयोगीहरूले कर्मचारीलाई नियन्त्रणमा लिई घण्टौंसम्म दुव्र्यवहार गरेका थिए । घटनामा बहालवाला उपमेयरको समेत संलग्नता रहेको बैंकको दाबी छ ।
कर्मचारीलाई धितो लिलामी स्थगनको लिखित पत्र तत्काल उपलब्ध नगराए ज्यान लिने धम्की दिइएको र सुरक्षा निकायबाट सहयोग नपाएपछि बैंक विकल्पविहीन भएर पत्र जारी गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । यो घटना अत्यन्त खेदजनक रहेको बैंकले बताएको छ ।
ज्योति विकास बैंक नेपाल राष्ट्र बैंकबाट नियमन हुने राष्ट्रिय स्तरको विकास बैंक हो । यसका कर्मचारीहरू बैंकिङ व्यवसाय सञ्चालन गर्ने माध्यम हुन् । व्यावसायिक दायित्व निर्वाह गर्ने क्रममा भएको यो घटना दुर्भाग्यपूर्ण रहेको बैंकको भनाइ छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू अराजक र अपराधिक गतिविधिको निशानामा पर्दै आएकोप्रति दुःख व्यक्त गर्दै बैंकले यस्ता कार्यको घोर निन्दा गरेको छ ।
अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको र यस्ता अपराधिक मनसायविरुद्ध सदैव कडा रूपमा उभिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
बैंकले सम्पूर्ण सरोकारवालालाई यो घटनाप्रति सचेत रहन र कानुनी प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ ।








