इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले आफ्नो वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा आयोजित समारोहमा स्नातक तहका विद्यार्थीहरू दीक्षित भएका छन् ।
समारोहमा बीए (अनर्स) बिजनेस एड्मिनिस्ट्रेसन र बीएस्सी (अनर्स) कम्प्युटिङ कार्यक्रम पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका थिए । कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरूको उल्लेख्य र उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले परम्पराअनुसार यस वर्ष पनि उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीलाई पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त छात्रवृत्ति यसपटक मनिष धमलालाई प्रदान गरिएको हो । उनले इस्लिङ्टन कलेजमा एमएस्सी आईटी कार्यक्रम अध्ययन गर्नेछन् । साथै, इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थामा कार्यानुभव हासिल गर्ने अवसर पनि पाउनेछन् ।
समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीसहित शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । वक्ताहरूले स्नातकहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै सीपमूलक र अन्तर्राष्ट्रिय स्तरको शिक्षाको महत्वमा जोड दिएका थिए ।
इन्फोरमेटिक्स कलेज पोखरा सूचना प्रविधि, व्यवसाय प्रशासनलगायत क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी र विश्वव्यापी प्रतिस्पर्धामा सक्षम बनाउने ज्ञान तथा सीप प्रदान गर्नु कलेजको मुख्य प्रतिबद्धता रहेको जनाइएको छ ।
यो दीक्षान्त समारोहले कलेजको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको मेहनतलाई उजागर गरेको छ ।








