‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

ललितपुर । बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भिडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो ।

योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधारण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भिडभाडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुगे ।

मन्त्री आउनेबारे स्थानीय जनप्रतिनिधिलाई कुनै जानकारी थिएन । अकस्मात मन्त्री बङ्गलामुखी क्षेत्रमा आएपछि सर्वसाधारण र जनप्रतिनिधिसमेत अचम्मित भए ।

आफ्नै टोल र चोकमा आइपुगेका मन्त्रीसँग समस्या, पीडा र अपेक्षाहरू प्रत्यक्ष राख्न पाउँदा उनीहरू प्रफुल्लित भए । ‘पहिला मन्त्री भेट्न सिंहदरबार जानुपथ्र्यो, तर अहिले मन्त्री नै जनता भेट्न घरदैलोमा आउनुभयो’, स्थानीय प्रणव श्रेष्ठले भने, ‘नागरिक सरकारको साँच्चिकै अनुभूति भयो । यसरी नागरिकले मन्त्रीलाई प्रत्यक्ष भेटेर घर टोलमै समस्या राख्न पाउनु राम्रो हो ।’

बङ्गलामुखी क्षेत्रको गुठीमा योमरी पुन्हीको परिकार पकाउने काममा व्यस्त स्थानीय रेणु महर्जनले एक्कासि सञ्चारमन्त्री देखेपछि दङ्ग भए । काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुसी देखिन्थ्यो । ‘मन्त्रीलाई प्रत्यक्ष भेट्न पाउँदा असाध्यै खुसी लागेको छ । यसरी कोही पनि मन्त्री आएका थिएनन्’, महर्जनले भने । सँगै काम गरिरहेकी सन्तु महर्जनलाई पनि मन्त्री भेट्दा पाउँदा औधी खुसी थिए ।

सिँढीमा घाम तापिरहेका ८७ वर्षीय बाबुलाल महर्जनले मन्त्रीलाई आफ्नै घरमा भेटेर मन्त्रीसँग भलाकुसरी गर्न पाउँदा अनौठो लागेको बताए । पहिला मन्त्रीहरू ठूलो पल्टिएर हिँड्ने गरेको अनुभव सुनाउँदै स्थानीय महेन्द्र महर्जनले यसरी मन्त्री घरघरै आएर जनतासँग भलाकुसारी गर्दा खुसी लागेको बताए ।

‘सिंहदरबारभित्र सबै नागरिक पुग्न सक्दैनन् । मन्त्री भेट्न सबैका लागि सजिलो हुँदैन । त्यसैले सरकार नागरिक कहाँ पुग्नुपर्छ’, मन्त्री खरेलले भने, ‘कार्यक्रमको आवरणविना, औपचारिकताविनै जब मन्त्री नागरिकको बिचमा पुग्छ, तब मात्र देशका वास्तविक समस्या, पीडा र अपेक्षा बुझ्न सकिन्छ ।’

नागरिक सरकारसँग केही माग मात्रै गर्न खोजिरहेका हुँदैनन् बरु उनीहरूसँग समाधानका सुझाव हुन्छन् भन्दै ती सुझाव सुन्ने साहस र समय सरकारसँग हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो नागरिक सरकार हो । सरकार सिंहदरबारमा मात्र सीमित छैन–सरकार त गाउँ–बस्ती, टोल–चोक र श्रमिकको पसिनामा छ । सिंहदरबार नै सरकार हो भन्ने भ्रम तोड्न अब सरकार आफैँ नागरिक कहाँ जानुपर्छ ।’

सञ्चारमन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गरेको हो । उनले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिए ।

जेनजी आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ ।

ललितपुर महानगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष जुवन तण्डुकारले सङ्घीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय कार्य गरेको उल्लेख गरे ।

उनले बङ्गलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्रीसमक्ष माग गरे । वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्नु प्रसंशनीय कार्य भएको बताए ।

ललितपुर मात्र नभइ देशभरका टोल–छिमेक र समुदायमा पुगेर नागरिकका आवाज सुन्नु र तिनलाई नीतिमा रूपान्तरण गर्नु नै सरकारको दायित्व भएको मन्त्री खरेलले बताए । उनले भने, ‘जनताको साथ, सुझाव र विश्वासले अझै राम्रो काम गर्न प्रेरित बनाएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =