प्रश्नको सामना गर्न नसकेपछि इजलासमै ढले रास्वपा निकट अधिवक्ता !

काठमाडौँ । सर्वोच्च अदालतमा बहसका क्रममा अधिवक्ता सुलभ खरेल बुधबार इजलासमै ढलेका छन् । नेकपा (एमाले) ले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहस सुरु हुनुअघि नै उत्पन्न तनावपूर्ण वातावरणका बीच खरेल ढलेका हुन् ।

बुधबारको संवैधानिक इजलास प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्माको संयोजनमा बसिरहेको थियो ।

इजलासमा उपस्थित खरेलले आफ्नो परिचय दिएलगत्तै प्रधानन्यायाधीश राउतले भदौ २४ गते सर्वोच्च अदालत र नेपाल बार भवनमा भएको आगजनीपछि उनले सामाजिक सञ्जालमा लेखेको टिप्पणीबारे स्पष्टीकरण मागे ।

प्रधानन्यायाधीशले प्रश्न गर्दै भने, ‘विद्वान मित्र, तपाईंले भदौ २४ गतेको आगजनीपछि फेसबुकमा के लेख्नुभएको थियो? कानुन व्यवसायीको मर्यादाको हेक्का राख्नुपर्दैन? अदालत र बार जलेकोमा खुसी हुनुपर्ने कारण के हो ?’

न्यायाधीशहरूका निरन्तर प्रश्नपछि खरेल मौन बने । बीचमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले स्थितिलाई सामान्य बनाएर बहस अघि बढाउन प्रयास गरे पनि प्रश्नोत्तर जारी रह्यो ।

लगातार प्रश्न आएपछि मानसिक दबाब सहन नसकी खरेल इजलासमै ढलेका थिए । सहकर्मी कानुन व्यवसायीहरूले तत्काल उनलाई सम्हाले, पानी खुवाए र कुर्सीमा बस्न सहयोग गरे। केही बेरपछि उनी सामान्य बने ।

यसपछि न्यायाधीश सपना प्रधान मल्लले पनि कानुन व्यवसायीको मर्यादा र सार्वजनिक अभिव्यक्तिबारे प्रश्न उठाउँदै भनिन्, ‘हामी न्यायाधीशको जति मर्यादा हुन्छ, त्यति नै कानुन व्यवसायीको पनि हुन्छ । न्यायालय जलाउने, न्यायाधीशलाई पार्टीको झोले भन्ने अभिव्यक्ति इतिहासमा लेखिनुपर्छ भन्ने कुरा कहाँ जान्छ ?’

वरिष्ठ अधिवक्ता भट्टराईले सबै पक्षलाई शान्त पार्दै रिटका लिखित जवाफ आएपछि समग्र विषयलाई प्राथमिकताका साथ निरन्तर सुनुवाइमा राख्न आग्रह गरे । त्यसपछि इजलासमा उपस्थित कानुन व्यवसायीहरूले आफ्नो नाम दर्ता गरे ।

अधिवक्ता खरेललाई मुख्य रजिस्ट्रार विमल पौडेलको साथमा बाहिर पठाइयो, जहाँ पौडेलले सौहार्दपूर्ण छलफल गर्दै उनलाई बिदा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =