प्रलोपाले भन्यो– सरकारले निर्वाचनको वातावरण बनाओस्

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
बुधवार सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष,धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो ।
सो निर्वाचनमा विदेशमा रहेका मतदाताहरुले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किराँतीले बताए ।
त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ ।
जेनजीहरुले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका मागहरु पनि आफूहरुले सरकारसँग राखेको नेता किराँतीले बताए ।
त्यसैगरी सो पार्टीले सहकारी ठगहरुलाई तत्काल कारबाही गर्न पनि प्रधानमन्त्री कार्कीलाई सचेत गराएको छ ।








