एमाले महाधिवशेन : दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ । उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए ।

केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको उनले बताए । सचिव ढुङ्गेलले सबै जिल्लाबाट छनोट गरिएका प्रतिनिधि प्रदेश कमिटीको कार्यालयमा विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

‘प्रतिनिधिका विवरण प्रदेश कमिटीमा महाधिवेशन शुल्कसहित सङ्कलन भइरहेको छ’, उनले भने, ‘एक दुई दिनमा सबै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउने छ र हामीले उक्त प्रतिनिधि कार्ड बनाएर वितरण गर्ने छौँ ।’ महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनमा सहभागी हुने आयोजकलाई तीन हजार र प्रतिनिधिलाई दुई हजार शुल्क तोकिएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =