माग सुनुवाइ नगरेको भन्दै औषधि व्यवसायीद्वारा सरकारको आलोचना

काठमाडौँ । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमवार पनि काठमाडौँको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।

सरकारले आफूहरूको मागको सुनुवाइ गर्नुको साटो शान्तिपूर्ण रूपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाए । उनले आफूहरूको माग तत्काल सुनुवाइ नगरे सबै व्यवसाय बन्द गरेर सडक सङ्घर्षमा आउन बाध्य हुने चेतावनी समेत दिए ।

व्यवसायी पाण्डेले भने ‘स्वास्थ्यमन्त्रीज्युले थाहा पाउँदा पाउँदै पनि विभागीय प्रमुखको कुरा सुनेर हामीहरूलाई बेवास्ता गर्नुभयो भने यसको असर देशव्यापी रूपमा हुन्छ । हामीलाई कुनै दल र समूहसँग नजोड्नु होला । हामीलाई अरूसँग मतलब छैन । हामीलाई अध्यादेशमार्फत काम गर्न सहज हुनेगरी कानुन बनाइयोस् भन्ने हाम्रो कुरा हो । हामीलाई गृहमन्त्रीले शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाउनेगरी प्रहरी परिचालन गरिएको छ । यो भनेको त राज्यले हामीलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको होइन र रु’

औषधि व्यवसायीहरूले व्यावसायिक नवीकरण ढिला भएमा स्वतः व्यवसाय रद्द हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सो विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् । व्यवसायी पाण्डेले सरकारले आफूहरूको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रूपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =