लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सबैको सामूहिक प्रयास आवश्यक : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा र लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण समेत गरे । साथै उनले लैङ्गिक हिंसा
न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति कृतज्ञता व्यक्त गरे ।

लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, सङ्घसंस्थाहरू सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरी उत्तिकै ऊर्जाका साथ सम्बन्धित सबै निकायहरूले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

लैङ्गिक हिंसाको वार्षिक २ तथ्य पत्रले लैङ्गिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै निकायहरूबाट सम्पादन भएका काम कारबाहीहरूलाई समेटेको चर्चा गर्दै यस तथ्य पत्रले महिला बालबालिका तथा जेष्ठ नागरिकको हितमा कार्यरत समस्त नेपाल प्रहरीका सकल दर्जाको सदैव प्रतिबद्धता रहेको र आगामी दिनमा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत मार्गदर्शन गर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय एआइको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखा परेको उल्लेख गर्दै नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न सङ्घसंस्थाहरू, शैक्षिक संस्थाहरू, स्थानीय तह र महिला सञ्जालहरूसँग समेत समन्वय गरी हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको बताए ।

लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिबद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा गृहमन्त्रालयका उपसचिव मिना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोसनी देवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन Leon Muwoni र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लैङ्गिक हिंसा नियन्त्रणः तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =