आमाबुबाको साथले क्रिकेटर बनेका बसिर अहमद, जो बने थ्रिलर खेलका नायक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल एक रोमाञ्चक र थ्रीलर बन्यो । विराटनगर किंग्सले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै आफ्नो चौथो जित सुनिश्चित गर्‍यो । यस जितमा निर्णायक भूमिका निर्वाह गरे स्पिन अलराउन्डर बसिर अहमदले, जसले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ६२ रन बनाइ किङ्सलाई जित दिलाए ।

विराटनगरलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो । जहाँ कर्णालीका नन्दन यादवले पहिले चार बलमा ६ रन मात्र दिए । तर बसिरले पाँचौँ बलमा छक्का हिर्काइ खेललाई एक बल बाँकी छदा समेटेर विराटनगरलाई जित दिलाए । खेलको अन्तिम क्षणले मैदानमा उपस्थित दर्शकहरूलाई उत्साह र जोशले भरिदियो ।

विराटनगरको जितपछि प्रिजेन्टेसन सेरेमनीमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका बसिर अहमदले सोधिएको प्रश्नको जवाफमा खेल आफ्नो आमालाई समर्पण गर्ने बताइरहेका थिए । उनले भने, मैले आजको जित मेरी आमालाई समर्पण गर्न चाहन्छु, जसको माया र समर्थनले मलाई यहाँसम्म ल्याएको छ ।’

विराटनगरको जितको सेलिब्रेसन पनि रोचक थियो । बसिरको शानदार पारीपछि कप्तान सन्दीप लामिछानेले मैदानमा पुसअप गर्दै आफ्नो खुशी व्यक्त गरे, जुन कर्णालीका कप्तान सोमपाल कामीले पनि विकेट लिँदा गरेका थिए । यो खेलको प्रतियोगिता र उत्साहले निकै नै रोमाञ्चक मोड लिएको थियो ।

संघर्ष र सफलताः बसिरको क्रिकेट यात्रा

बसिर अहमद, जो रूपन्देहीको मायादेवी गाउँपालिका–४ का २२ वर्षीय क्रिकेटर हुन् । खेलका क्रममा उनले २० किलोमिटर टाढा लुम्बिनी नवयुवा क्लबमा क्रिकेट प्रशिक्षण लिन जान्थे । आमाबुबाको साथ र भैरहवाका प्रशिक्षक बसन्त शाहीको मार्गदर्शनमा उनले आफ्नो क्रिकेट यात्रा शुरू गरे ।

बसिरले नेपालका यू–१९ राष्ट्रिय टोलीबाट प्रारम्भिक प्रदर्शनका पछि नेपालको राष्ट्रिय टोलीमा स्थान पाएका थिए, तर आफ्नो स्थान कायम राख्न उनलाई निकै प्रतिस्पर्धा गर्नु परेको छ ।

२०७९ को असारमा नामिबियाविरूद्ध उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, तर निरन्तरता भने उनले पाउन सकेका छैनन् ।

यस्तो छ अंकतालिका

विराटनगरले जितपछि ५ खेलबाट ८ अंक जोडेको छ र दोस्रो स्थानमा यथावत् छ । कर्णालीको भने ४ खेलमा २ अंक मात्र छ र पाँचौं स्थानमा छ ।

तालिकाको शीर्षस्थानमा आसीन सुदूरपश्चिम रोयल्सको ४ खेलमा ४ जितसहित ८ अंक छ, नेटरनरेटमा विराटनगरभन्दा अघि रहेर ।

तेस्रो स्थानमा काठमान्डु गोर्खाजको ५ खेलमा ६ अंक छ । काठमान्डुले शुक्रबारकै पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । चितवन ४ खेलमा ४ जितसहित चौथो स्थानमा छ ।

२-२ अंक नै भएका पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स छैटौं र सातौं स्थानमा छन् भने जनकपुर बोल्ट्स ३ खेलमा अंकविहीन रहँदै पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =