सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, कर प्रयोजनका लागि नगद लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज (शुक्रबार) काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा सम्पन्न भएको छ । सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस शेयर (रु. ७३८.४५ करोड) र ०.२६३ प्रतिशत नगद लाभांश (रु. ३८.८८ करोड) कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । कुल लाभांश रकम रु. ७७७.३१ करोड रहने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष ०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ भने १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
अध्यक्ष पाण्डेले शेयरधनीहरूसमक्ष प्राप्त सुझावलाई कार्यान्वयन गर्दै बैंकलाई थप सुदृढ र सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत सुशासन तथा अनुपालनालाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने बैंकको योजनाको पनि जानकारी गराए ।
साधारण सभामा बैंकले हाल प्राप्त गरेको उपलब्धिहरू पनि सार्वजनिक गरेको छ । बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ शीर्षक प्राप्त गरेको छ । फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
यस्तै, बैंकले युवावर्ग लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, डिजिटल सेवामार्फत एकीकृत ‘सिटिजन्स डिजी बैंक सेवा’, तथा फ्रिलान्सर सेविङ्स अकाउन्ट सुरु गरेको छ ।
नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन (ASBA) र CRN सेवा लिन सकिने सुविधा पनि सञ्चालनमा ल्याइएको छ । साथै, क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ ।
सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ५६ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।








