पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

काठमाडौं । सुमित वर्माको अलराउन्ड प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पहिलो जित निकालेको छ ।

कीर्तिपुरमा पोखराले बिहीबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि २५ रनको जित निकाल्दै जारी एनपिएलमा तेस्रो खेलबाट पहिलो सफलता आत्मसात गरेको हो ।

पोखराको जितमा सुमितले अर्धशतकसहित अलराउन्ड प्रदर्शन गरे । लगातार तेस्रो हारसँग डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि दबाब बढेको छ ।

पुछारका दुवै टोली जित निकाल्दै प्लेअफ होडमा रहन चाहन्थे । तर, खराब ब्याटिङ गरेपछि जनकपुरले हार सामना ग¥यो । त्रिवि क्रिकेट मैदानमा पोखराले एक सय ५६ रनको लक्ष्य दिएको थियो ।

जबाफी ब्याटिङ गरेको जनकपुरले पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन मात्र जोड्न सक्यो । सातौं नम्बरमा आएका वाइने पर्नेलले ५० रन जोडे । एनपिएलमा पहिलो खेल खेलेका पर्नेल अर्धशतकसँगै रिटायर्ट भए ।

इनिङको चार बाँकी छँदा उनी रिटायर्ट हर्ट भएका हुन् । उनले ३८ बलमा दुई चौका र चार छक्का हिर्काए । ओपनर माज सदाकले २०, मध्य क्रमका ब्याटर सन्जय कृष्णमुर्तिले २५ र तल्लो क्रमका ललित राजवंशीले १० रन जोडे । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर आसिफ शेख शून्यमा, शुभ कंसाकार ४ र निकोल लफ्टी इटन २ रनमा आउट भए ।

पावरप्लेमा नै चार विकेट गुमाएको जनकपुरले ३७ रन मात्र जोडेको थियो । कप्तान अनिल साह र मायन यादव पनि सस्तैमा आउट भएपछि जनकपुर दबाबमा प¥यो । त्यसपछि सञ्जय र पर्नेलले इनिङ समाल्ने प्रयास गरे । कप्तान कुशल भुर्तेलले सञ्जयलाई आउट गर्दै फेरि जनकपुरलाई दबाबमा राखे ।

एक छेउबाट पर्नेलले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । पोखराका बलर विपिन खत्रीले चार ओभरमा चार विकेट लिँदै १५ रन खर्चिएर उत्कृष्ट प्रदर्शन गरे । सुमितले दुई तथा कुशल र जिमीले समान एक विकेट निकाले ।

सुमितकै अर्धशतकमा पोखराले पूरै ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनाएको थियो । मध्य क्रमका ब्याटर सुमितले २९ बलमा ५० र बनाएपछि पोखराले सम्मानजनक योगफल बनाएको हो । उनले दुई चौका र चार छक्का हिर्काए ।

पावरप्लेमा बिना विकेट ४५ रन जोड्दै पोखराले राम्रो सुरुआत पायो । ओपनरद्वय दिनेश खरेलले ३८ रन र आदम रोसिङ्टनले २४ रनको योगदान दिए । दिनेशले ३८ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

१७ बल खेलेका एडमले तीन चौका हिर्काए । तर, नवौं र दशौं ओभरमा पोखरालाई ठूलो झड्का लाग्यो । नवौं ओभर पोखराले ओपनर एडमसँगै कप्तान कुशल भुर्तेललाई शून्यमै गुमाउन पुग्यो । सन्जय कृष्णमुर्तिले दुवै विकेट लिएका हुन् । लगत्तै अर्को ओभरमा कप्तान अनिल साहले अर्का ओपनर दिनेशलाई पनि आउट गरे ।

खातामा थप १ रन जोड्दा जिमी निसम (१ रन) पनि पभेलियन फर्किए र पोखरा पूर्ण दबाबमा प¥यो । यससँगै १०.२ ओभरमा पोखरा ६४÷४ को अवस्थामा पुग्यो । तर, पाँचौं विकेटका लागि सुमित र तृतराज दासबीब ७२ रनको महत्वपूर्ण साझेदारी बन्यो ।

यी दुईबीच तालमेल नमिल्दा १९औं ओभरमा तृतराज २९ रनमा रनआउट हुन पुगे । २८ बल खेलेका उनले दुई चौका हिर्काए । अर्को छेउबाट आक्रामक ब्याटिङ गर्दै सुमितले एक सय ५० रनको आँकडा पार गराए ।

जनकपुरको बलिङमा सन्जयले तीन तथा अनिल र ललित राजवंशीले एक विकेट लिए । चार ओभर बलिङ गरेका ललितले ४० रन खर्चिदै महँगा भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =