‘लुटिएका हतियार र फरार कैदीहरु फिर्ता नल्याउँदासम्म शान्तीपूर्ण ढंगले निर्वाचन हुन सक्दैन’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले अगामी २१ फागुनमा घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुको यस्तो टिप्पणी गरेका हुन् ।

जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका कैदीबन्दी तथा लुटिएका हातहतियार समाजमै रहेको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न नसकिने धारणा राखे ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद युवराज शर्माले मुलुक हिंसात्मक बन्दै गएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराए ।

उनले पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।

उनले जेनजीको नाममा केही समूहहरुले राजनीतिक दलहरुलाई शान्तीपूर्ण ढंगले कार्यक्रम समेत गर्न नदिएके भन्दै यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ ? भन्ने प्रश्न गरे ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई कुलमान घिसिङलाई मन्त्रीबाट हटाउन समेत आग्रह गरे । उनले राजनीतिक दल खोलेर निर्वाचन लड्नको लागि स्रोतको छानविन गर्नुपर्ने भन्दै मन्त्री नियुक्तिको विषयमा पुनर्विचार गर्न उनको आग्रह छ ।

नेकपा (एमाले)की सांसद रुक्मिणी कोईरालाले कैदीबन्दी फरार तथा हातहतियार समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन हुन नसक्ने बताइन् ।

उनले सरकारले अझै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न वातावरण निर्माण गरिनसकेको उनको भनाइ छ । उनले हातहतियार र हअपराधी समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण निर्वाचन सम्भव छ ? उनको प्रश्न छ ।

बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारले पूरा गर्न नसकेको टिप्पणी गरे ।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन अपरिहार्य भएपनि सरकार र दलहरुले उचित वातावरण बनाउन नसकेको टिप्पणी गरे । उनले सरकार र दलहरुले एकअर्कासँग निहुँ खोज्ने कार्य रोके घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सकिने पनि बताए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरकारले घोािषत मितिमा निर्वाचन सम्पन्न गर्न लुटिएका हतियार भागेका कैदीहरु तत्काल फिर्ता ल्याउनुपर्ने धारणा धारणा राखे ।

दलहरुले शान्तीपूर्ण कार्यक्रम समेत गर्न नपाएको भन्दै उनीहरुले यस्तै अवस्थामा निर्वाचन सम्भव नरहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =