स्वास्थ्यमन्त्रीलाई पौडेलको आग्रहः ‘अघिल्लो सरकारले गरेका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिनुस्’

काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेस नेता प्रदीप पौडेलले आफूले मन्त्री हुँदा अगाडि बढाएका स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई बुधवार मन्त्रालयमा भेटेर पूर्वमन्त्री पौडेलले बीमा कार्यक्रम, जनशक्ति व्यवस्थापनदेखि औषधि मूल्य निर्धारणका प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेका हुन् ।

पौडेलले आफूले केही नयाँ कार्यक्रम शुरु गर्ने, पुराना प्रभावकारी कामलाई निरन्तरता दिने र संरचनात्मक सुधारहरु अघि बढाउने प्रयास गरेको बताए । उनले धेरै कामहरु ९० प्रतिशतसम्म सकिएपनि थोरै बाँकी रहेका कारण धेरै काम पूर्णता पाउन नसकेको बताए ।

उनकाअनुसार मन्त्रालयबाट ७ वटा विधेयक तयार भएका थिए । तीमध्ये संगठित क्षेत्रलाई सम्पूर्ण रुपमा विमामा आवद्ध गर्ने सम्बन्धी विधेयक भदौ २५ गतेका लागि संसदको कार्यसूचिमै समावेश भइसकेको थियो । उनले संगठित क्षेत्रलाई पूर्ण रूपमा स्वास्थ्य बीमामा आवद्ध गर्ने योजनालाई सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनकाअनुसार बीमामा सरकारबाट १० अर्ब र प्रिमियमबाट ४ अर्ब गरी कुल १४ अर्ब आम्दानी हुने संरचना तयार गरिएको थियो । स्वास्थ्य बीमामा प्रदान गरिने उपचार रकम १ लाखबाट २ लाख पु¥याइएको उल्लेख गर्दै उनले संगठित क्षेत्र समावेश भएमा वार्षिक १ खर्बभन्दा बढी राजस्व उत्पन्न हुने दाबी गरे ।

१ खर्ब आम्दानी हुँदा आवश्यक व्यक्तिलाई ५ लाख उपचार रकम दिन गाह्रो नहुने उहाँको भनाई छ । ५ लाखको कार्यक्रम अगाडि सारेको उनले स्मरण समेत गराए ।

पूर्व मन्त्री पौडेलले प्रसूति सेवा तथा मातृस्वास्थ्यसँग संवद्ध ओएनएम सम्बन्धी प्रश्ताव अर्थ मन्त्रालयमा पठाएकोले त्यसलाई अगाडी बढाउन आग्रह गरे । उनले ८ सयभन्दा बढी चिकित्सक र १४ सय नर्सको रिक्त दरबन्दी पूर्ति गर्न खुला विज्ञापन निकाल्ने तयारी मन्त्रालयले गरेकोले ती प्रक्रियालाई पनि अगाडि बढाउन मन्त्री गौतमलाई आग्रह गरे ।

जेनजी आन्दोलनका क्रममा मंत्रालयमा भएका आगजनीका कारण महत्वपूर्ण कागजात नष्ट भएको भएपनि ती फाइलहरूको डिजिटल प्रतिलिपि सुरक्षित रहेकोले अधुरा रहेका कामलाई अगाडी बढाउन उनले आग्रह गरे ।

उनले औषधिको मुल्य निर्धारणसम्बन्धी रिर्पोट मन्त्रीपरिषद्मा पेश गर्न बाँकी रहेकोले त्यसलाई पनि अगाडी बढाउन आग्रह गरे । प्रयोग नभएका पूर्वाधार प्रयोगमा ल्याउन, सातै प्रदेशमा क्यान्सर, मुटु र जलनको सेवा विस्तारलाई निरन्तरता दिन, हेलो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, निर्माण सकिएका सबै अस्पताल सञ्चालन ल्याउन लगायतका सुझाव दिए ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले राम्रा कामहरुलाई मन्त्रालयले निरन्तरता दिने बताइन् । उनले यो सरकार जेनजीको भावना अनुरुप बनेकोले उनीहरुको भावनाअनुरुप भ्रष्टाचार निर्मूल गर्नेगरी काम गरिरहेको बताइन् ।

खासगरी भ्रष्टाचारका आरोपहरु लाग्ने गरेको क्षेत्र औषधिको व्यवस्थापन, आपूर्ति र बीमा रहेको उनको भनाई छ । उनले यी तीन वटा कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

औषधि व्यवस्थापनमा गम्भिर समस्या देखिएकोले यसको खरिद, नियमन र गुणस्तरको कामका लागी त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फार्मोकलजिष्ट र पूर्व महानिर्देशक लगायत विज्ञ टिमले काम गरिरहेको बताइन् ।

उक्त टिमको नेतृत्व मन्त्रालयका अतिरिक्त सचिवले गरिरहेको उनको भनाई छ । उनले यसको दिगो समाधान लागी काम भईरहेको जानकारी दिएन् ।

उनले औषधि आपूर्तिमा मन्त्रालयका १४ जना कर्मचारी निलम्वनमा रहेको जानकारी दिइन् । त्यसले कर्मचारीको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले ऐन नियममा भएको कमजोरीलाई सुधार गरेर औषधि आपूर्तिलाई सहज बनाउने बताइन् । बीमालाई सुधार गर्न गहन छलफल गर्ने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =