सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसके : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरु निर्वाचनको लागि तयार भइसकेको बताएका छन् ।

मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उनको सो प्रतिक्रिया आएको हो ।

‘निर्वाचन प्रयोजनका लागि जुन राजनीतिक दलहरुले दल दर्ता गरिसके । हामी निर्वाचनको विरोधी होइन भनिरहेका छन् । सुरक्षाको वातावरण बनाउन भनिरहेका छन् । गाउँ, टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न कार्यक्रमहरु गरिसकेका छन भनेपछि अव के आशंका रहेन भने अव सबै राजनीतिक दलहरु चुनावका लागि तयार भईसके । जुन राजनीतिक दलहरुले चुनावमा आउँदैनौ कि भन्ने जस्तो आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ता, नविकरण गरिसक्नु भएपछि अब निर्वाचनको माहौल राजनीतिक दलको तर्फबाट बनिसक्यो’ उनले भने ।

मन्त्रीपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले अव निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताए ।

उनले निर्वाचनका लागि राजनीतिक दलहरुको तर्फबाट माहौल बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पारे । ‘निर्वाचनको प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सुरक्षा निकायले तत्तत ठाउँमा त्यो योजना पठाएको छ । र कार्यान्वयन हुने अवस्था छ । अव हामी एक हिसावले चुनावको थप माहौल बनाउन, यसको माहौल झन प्रगाढ र थप स्पष्ट बन्दै गईसकेको कुरा म निवेदन गर्दछु’ उनले भने ।

त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =