चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बाँचेनन् कावासोती दुर्घटनाका हीराबहादुर

काठमाडौं । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् ।

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।

मोटरसाइकल चालक कावासोती नगरपालिका-१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा गए राति मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =