अतिक्रमणमुक्त जग्गामा महानगरको नयाँ योजना, बन्ने भयो अत्याधुनिक स्पोर्टस् पार्क (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमणमुक्त गरेको ५ रोपनीभन्दा बढी सार्वजनिक जग्गामा अब अत्याधुनिक स्पोर्टस् पार्क निर्माण हुने भएको छ । वडा नम्बर १०, देवीनगर (धोवीखोला करिडोर खण्ड) मा यसअघि व्यक्ति तथा संस्थाले भोगचलन गर्दै आएका संरचना हटाई निर्माण हुन लागेको यस पार्कको आज एक विशेष समारोहबीच शिलान्यास गरिएको छ ।

महानगरपालिकाको यस महत्वाकांक्षी परियोजनाले स्थानीय बासिन्दाका लागि खुला व्यायाम, मनोरञ्जन र सामाजिक क्रियाकलापको केन्द्र बिन्दु बन्ने अपेक्षा गरिएको छ । शिलान्यास समारोहमा वडा नम्बर १० का अध्यक्ष तथा महानगरपालिका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले पार्क निर्माणले भौतिक पूर्वाधारको मात्र नभई सामाजिक सद्भाव र क्रियाशीलता बढाउने माध्यम बन्ने कुरामा जोड दिए ।

कूल ५ रोपनी १० आना २ पैसा (२,८८० वर्गमिटर) क्षेत्रफलमा फैलिएको यो पार्क निर्माणका लागि उद्यान तथा हरियाली प्रबर्द्धन आयोजनाले बोलपत्र आह्वान गरेको थियो । १२ वटा कम्पनीमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएको छ ।

अत्याधुनिक सुविधा

  • खुला व्यायामशाला: शारीरिक सुगठन र स्वस्थ जीवनशैलीका लागि खुला व्यायामका उपकरणहरू जडान गरिनेछ ।

  • ब्याडमिन्टन कोर्ट: १२८ वर्गमिटर क्षेत्रफलमा एक आधुनिक ब्याडमिन्टन कोर्टको निर्माण हुनेछ ।

  • फुटसल मैदान: युवा तथा खेलप्रेमीहरूका लागि ९२८.५३ वर्गमिटरको फराकिलो फुटसल मैदान उपलब्ध हुनेछ ।

  • शौचालय तथा चेन्जिङ रुम: महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै सुविधासम्पन्न शौचालय र पोशाक परिवर्तन गर्ने कक्षको व्यवस्था गरिनेछ ।

  • हरियाली प्रवर्धन: ३११.८९ वर्गमिटर क्षेत्रमा दुबो रोपी हरियाली बनाइनुका साथै १६३ वटा विभिन्न जातका बिरुवा र ३०० वटा मौसमी फूल रोपिनेछन् ।

  • सुरक्षा: पार्कको सुरक्षाका लागि वरिपरि बलियो पर्खाल निर्माण गरिनेछ ।

यस पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ। कार्यादेश रकम भने भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ हजार रुपैयाँ तोकिएको छ । निर्माण पक्षलाई कात्तिक १८ गते कार्यादेश दिइएकोमा २०८३ कात्तिक १८ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो पार्क निर्माणपश्चात् अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ उठाउनेछन् । यसले ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिकालाई खेल्ने र युवाहरूलाई खेलकुद तथा व्यायाम गर्ने उपयुक्त वातावरण प्रदान गर्नेछ ।

महानगर प्रहरी बलले २०८० साउन ४ गते यस स्थानमा भएका संरचनाहरू अतिक्रमणमुक्त गराएको थियो । त्यसक्रममा तत्कालीन भोगचलन गरिरहेकी पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहकार्य गरेकी थिइन् । महानगर प्रहरी बलले उनका सामानहरू स्थानान्तरण गर्न समेत सहयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =