पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन– अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने बताएका छन् ।

कर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले आम नागरिकको विकास चाहना पूरा गर्नसके समाजमा आफैँ शान्ति कायम हुने बताएका हुन् ।

उनकाअनुसार समाजमा कसैले आफू पाखा पारिएको छु भन्ने महसुस हुन दिनु हुँदैन । राज्यले सामाजिक सुरक्षासहित विकासमा पहुँच र आर्थिक अवसर उपलब्ध गराएको छ भन्ने धारणा निर्माण हुनुपर्छ । नागरिकले यस्तो अनुभूति गर्न पाए मात्र सरकार वा निजी क्षेत्रप्रति विद्रोह उत्पन्न हुनेछैन । उनकाअनुसार असन्तुष्टि पोखिँदा जेनजी आन्दोलन भएको हो । विभिन्न असन्तुष्टि राजनीतिक क्षेत्रदेखि समाजसम्म अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र रोजगारीको अभाव तथा पलायनको पीडाले मानिस विद्रोही बन्दै गएको उनको भनाइ छ ।

उनकाअनुसार समाजमा कहिलेकाहीँ मानिसहरू बरालिन सक्छन् वा विभिन्न कारणले विद्रोहमा उत्रन सक्छन्, त्यसका लागि सुरक्षा आवश्यक हुन्छ । तर दीर्घकालीन शान्ति र व्यावसायिक वातावरणका लागि सदाचार, अनुशासन र सुशासन अत्यावश्यक भएको उनको भनाइ छ ।

अर्थमन्त्री खनालले भने ‘राजश्वमा गरिएको योगदानले नै हामीले समतामुलक समाज निर्माण गर्नसक्छौँ । आम नागरिकको विकासको चाहना पूरा गर्न सक्छौँ र त्यसैबाट हामीले समाजमा शान्ति कायम गर्नसक्छौं । यदि समाजमा कसैले पनि म पाखा पारिएको छु, सरकारले मलाइ सामाजिक सुरक्षाको माध्यमबाट हेरेको छ । विकासमा पहुँच दिएर हेरेको छ । आर्थिक अवसर सिर्जना गरेर हेरेको छ भन्ने धारणा निमार्ण भयो भने नागरिक सरकारप्रति वा व्यवसायीप्रति विद्रोही भएर आउँदैनन् । जेनजी आन्दोलनले पनि हामीलाई त्यो कुराको पुष्टि गरेको छ । विभिन्न प्रकारका असन्तुष्टि राजनैतिक वृत्त, समाजमा पनि अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र मानिस पलायन हुनुको पीडा व्यक्त गर्ने क्रममा मानिसहरू विद्रोही हुन पुगेका हुन् । जसकारण हामीले क्षति व्यहोर्नुपर्यो ।

निजी क्षेत्रले संकटका बाबजुद पनि हामी खरानी टकटकाटएर उठ्न तयार छौँ । हामी हतोत्साहित भएका छैनौँ । हामी मनोबल सुदृढ गराएर अब अगाडी बढ्छौँ भन्ने जुन धारणा व्यक्त गरेको छ । त्यसका साथसाथै हामी उत्साहित त छौँ सरकारले सुरक्षाको प्रबन्ध गर्नुपर्छ, सरकारले सुरक्षा दिन सकेन भने हामी जतिसुकै दृढ मनोबल लिएर अघि बढेपनि हामीले सफलता प्राप्त गर्न सक्दैनौँ भन्ने जुन धारणा व्यक्त गरेको छ ।

यसमा सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री, मैलेपनि सुरक्षामा कुनै किसिमको कमजोरी हुन दिइनेछैन तर सुरक्षा भन्दा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा जेन–जीहरूले जुन माग गरेका छन्, सुशासन कायम गर्न सकियो,भ्रष्टाचार न्यूनीकरण गर्न सकियो भने त्यसले दिने जत्तिको सुरक्षा अरू कुनै पनि हुन सक्दैन । यदि आम नागरिकले समाजमा न्यायपूर्ण तरिकाबाट शासन गरिएको छ, उद्योगी व्यवसायीले सही तरिकाले व्यवसाय गरेका छन्, सरकारका निकायहरूले इमानदारीपूर्वक काम गरेका छन् र नागरिकलाई दुख दिने काम गरेका छैनन् भने त्यो भन्दा ठुलो शान्तिको अस्त्र केही हुने छैन ।

अरू सुरक्षाले त्यसको प्रतिस्थापन गर्न सक्दैन । अरू सुरक्षा आवश्यक छ, समाजमा कतिपय अवस्थामा मानिसहरू बरालिएर र अरू कुनै कारणले विद्रोही हुन पुग्छन् । त्यसलाई नियन्त्रण गर्नका निमित्त सुरक्षा आवश्यक छ । तर समाजमा सबैभन्दा ठुलो कुरा सदाचार, अनुशासन, सुशासन कायम हुन सक्यो भने त्यसले शान्ति कायम गर्दै व्यवसायी वातावरण कायम गर्न सहयोग पुर्याउछ ।’

खनालले निजी क्षेत्र संकटका बाबजुद पनि पुनः उठ्ने मनोबलमा राख्नु सकारात्मक रहेको बताए । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =