सबै जिम्मेवार भएर अघि बढौँ : मीनबहादुर गुरुङ

काठमाडौं । नेपालका ख्यातिप्राप्त व्यवसायी मिनबहादुर गुरुङले कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण आफ्ना १२ वटा भाटभटेनी स्टोरहरू पूर्ण रूपमा नष्ट भएको र अन्य धेरैमा ठूलो क्षति पुगेको बताएका छन् । उनले यस दुःखद घटनाबाट आफू विचलित नभएको र अझै अघि बढ्ने अठोट व्यक्त गरेका हुन् ।

उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै गुरुङले दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरू आन्दोलनका क्रममा लुटपाट र आगजनीको शिकार भएको जानकारी दिए । उनले आफूमाथि हजारौँ युवाहरूको रोजगारीको जिम्मेवारी र बैंकहरूको ठूलो लगानी रहेकोले व्यवसायबाटै अघि बढ्ने निचोड निकालेको बताए । गुरुङले नेपालमा भइरहेका आन्दोलनहरूको मुख्य कारण विपन्नता र जिम्मेवारीको कमी भएको औँल्याए । उनले भाटभटेनीमाथि आक्रमण हुनुको पछाडि कुनै एउटा राजनीतिक दललाई भवन बनाइदिएको भन्ने हल्ला प्रमुख कारण रहेको बताए । तर, उनले राज्यलाई कर बुझाएपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो व्यक्तिगत इच्छाको विषय भएको स्पष्ट पारे ।

आफ्ना परोपकारी कार्यहरूको चर्चा गर्दै गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल निर्माणमा सहयोग गरेको र विपन्न तथा जेहेनदार विद्यार्थीहरूलाई एमबीबीएस पढाएको बताए । उनले भने, “गत भाद्र २३ र २४ गते जेन-जीको ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो, अहिले जेन-जीले २ दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ ।”

उनले आन्दोलनमा घुसपैठ भएको हुन सक्ने र यसले गर्दा ठूलो क्षति भएको आशंका व्यक्त गरे । उनले थपे, “दशैँ, तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु, म अघि बढ्छु । कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ ।”

नेपालको विपन्नतालाई आन्दोलनको मूल कारण मान्दै गुरुङले सबै जिम्मेवार भएर देश विकासमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरू धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले बोध गर्दछन् भन्ने विश्वास छ ।”

भाटभटेनीमाथि आक्रमणको कारणबारे स्पष्ट पार्दै उनले भने, “भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ । त्यही भएर डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिने कुरा नौलो कुरा होइन ।”

गुरुङले विभिन्न जिल्लाका विपन्न व्यक्तिहरूका बालबालिकालाई एमबीबीएस पढाएको र टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेको उल्लेख गरे । उनले राजनीतिक दलहरूलाई भवन बनाइदिएको भन्ने हल्ला निराधार भएको र यो आफ्नो व्यक्तिगत कुरा भएको बताए । उनले भने, “मैले उहाँहरूसँग लिने होइन, दिने मात्रै हो ।”

अन्तमा, उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए । खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको उदाहरण दिँदै उनले अरू व्यवसायीहरूले पनि त्यसैगरी देशमा रोजगारी सिर्जना गर्न सक्ने बताए । उनले नेपालमा धेरै कुराको अवसर रहेको भन्दै युवा उद्यमीहरूलाई प्रोत्साहित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =