आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौँ । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईकाअनुसार दर्ताका लागि दलले संवैधानिक र कानुनी आधारहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ । उनले निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता गर्न यसअघि नै आयोगमा दर्ता भएको हुनुपर्ने, विगतका वर्षहरूका लेखापरीक्षणहरू आयोगमा बुझाएको, केन्द्रीय समितिको बहुमतले निर्णय गरेको, विधान तथा नियमावली अद्यावधिक गरेको, संविधान र निर्वाचन ऐनअनुसार लोकतान्त्रिक चरित्र पूरा गरेको तथा विधानमा तोकिएअनुसार महाधिवेशन सम्पन्न भएको हुनुपर्ने बताए ।

उनले भने ‘पहिलो कुरा त निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको दल हुनुपर्यो, लेखा परीक्षणहरू विगतका वर्षहरूमा बुझाएको हुनुपर्यो । अनि केन्द्रीय समितिको बहुमतले निर्णय गरेको हुनुपर्यो, आफ्नो विधान तथा नियमावली अद्यावधिक भएको हुनुपर्यो । संविधान र निर्वाचन ऐनले तोकेका सर्तहरूमा निर्वाचनमा भाग लिन चाहने दलहरू लोकतान्त्रिक हुनुपर्यो । अनि आफ्नो विधानमा तोकिएको अवधिमा महाधिवेशन भएको हुनुपर्यो । यी सर्तहरू पुगेको अवस्थामा आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन दर्ता प्रक्रियामा लैजान्छ ।’

१९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो । जेनजी विद्रोहपछि गठित नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरी अगामी २१ फागुनमा निर्वाचन गर्दैछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको बताए । उनले परिपत्रकौ डेटाका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरेसँगै सेवाग्राहीको चाप बढेपछि उत्पन्न भएका प्राविधिक समस्या समाधान इन्जिनियरहरू परिचालन गरेको बताए ।

उनले भने ‘हामीले सबैको मताधिकार सुनिश्चित हुनेगरी आयोगको कार्यालयमा जान नपर्नेगरी पहिले राष्ट्रिय परिचय पत्र बनाएका व्यक्तिहरूलाई त्यसको विवरणको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रणाली सुरुवात गर्यौं । त्यो प्रणाली सुरु भइसकेपछि धेरै जना सेवाग्राहीहरूले एकैचोटि सेवा लिन खोजेको हुनाले सिस्टम स्लो हुने तथा नचल्ने समस्याहरू देखिरहेका छन् । त्यसको समाधानका लागि विभिन्न निकायमा कार्यरत इन्जिनियरहरूलाई झिकाएर सिस्टम बलियो बनाउने गरी काम भइरहेको छ ।’

सबै नागरिकको मताधिकार सुनिश्चित गर्ने उद्देश्यले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =