विज्ञहरू भन्छन्- नेपालमा दलतन्त्र हाबी हुँदा पत्रकारिता अपहेलित भयो

काठमाडौँ । विज्ञहरूले मुलुकको पत्रकारितामा दलतन्त्र हाबी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रका महासंघले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा। सुरेशप्रसाद आचार्य, वरिष्ठ पत्रकार किशोर नेपाललगायतका वक्ताहरूले पत्रकारहरू आफैँले सामाजिक सञ्जाललाई मिडिया भनिदिँदा उनीहरूको बिगबिगी हुने अवस्था आएको धारणा समेत राखेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारहरू आफैँले सामाजिक सञ्जाललाई सञ्चारमाध्यम हो भनिदिँदा पत्रकारिता क्षेत्र कमजोर भयो भन्ने टिप्पणी आउने गरेको बताए ।
उनले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले पत्रकारिताको नाममा ल्याइएको विसंगतिको सामना गरिरहनु परेको बताए । प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता क्षेत्रलाई कमजोर हुन नदिन पत्रकारहरू आफैँ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।
उनले भने ‘हामीले सोसल मिडिया भन्ने टर्मिनोलोजी डेभलवट गर्यौ नि । मलाई लाग्दैन कि –सोसल मिडिया कहीँ छ । सोसल नेटवर्क हो, सोसल साइट हो । तर सोसल मिडिया हामी आफैले भनिदिँदा ए तिमीहरू त मिडिया होइन रहेछौँ, मिडिया त यो पो रहेछ भन्ने भ्रम जनमानसमा पुगेको छ भन्ने मलाई लाग्छ । मिडियाका आफ्ना प्रिन्सिपलहरू छन् नि । मिडियामा गेटकिपर रोल हुन्छ नि । सोसल मिडियाहरूमा तपाईँले त्यो रोल देख्नुभएको छ ? हामी जोर्नालिष्टहरुको कुरा गरिराखेका छौ कि जेनेरालिष्टहरुको कुरा गरिराखेका छौँ ? एउटा सामान्य नागरिकले कहीँ आफ्नो ओपनियन राख्यो भने त्यसलाई हामीले समाचार भन्न थाल्यौँ । त्यो समाचार हो ? त्यसले सत्यतथ्यको परीक्षण गरेको छ ? त्यसको कतै जबाफदेहिता छ ? त्यो त देखिँदैन । तर हामीले के भन्यौ भने सबै त्यही नै पत्रकारिता हो भनेर बुझ्न थाल्यौँ । र, हामी आफैले आफैलाई कमजोर आँक्यौँ । परिणाम स्वरूप हामीलाई पनि लाग्न थाल्यो–बरबाद नै भईसक्यो, पत्रकारिता भन्ने त बाँकी नै रहेन । तपाई हामी जो यो हलमा छौ । पदीय हिसाबले मात्रै होइन, पत्रकारिताका हिसाबले पनि जिम्मेवार साथीहरू यहाँ छौँ । हामीले यो ढंगबाट बहस चलाउन थाल्यौ भने हामी पत्रकार रहन्छौँ भन्ने लाग्दैन । बरु हामीले हाम्रा फोरमहरूमा मिडियाहरूमा नै यो बहस चलाउनु पर्याे । आज पत्रकारितामाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिन सक्नुपर्याे हामीले कि यो पत्रकारिताले ल्याएको विसङ्गति होइन । पत्रकारिताको नाममा ल्याइएको विसङ्गति हो । यसलाई चिर्न हामी समक्ष छौँ । र सत्य यो हो भनेर जानु पर्यो ।’
वरिष्ठ पत्रकार नेपालले दलहरू हाबी हुँदा नेपाल पत्रकार महासंघको नेतृत्व समेत उनीहरूले नै निर्वाचित गर्ने अवस्था आएको उल्लेख गरे । दलले पत्रकार महासंघको नेतृत्व चयन गर्ने अवस्था आएकाले पत्रकारहरू अपहेलित हुने अवस्था पुगेको उनको निष्कर्ष थियो । वरिष्ठ पत्रकार नेपालले मिडिया हाउसहरूलाई व्यापारको भाडा बन्न नदिने कुरामा पनि नेपालको मिडिया सचेत हुनुपर्ने बताए ।
उनले भने ‘हामी यति नेतामुखी भयौ । हाम्रो पत्रकार महासंघले पत्रकारहरूले आफ्नो नेता चुन्दैनन् अचेल । अचेल दलका नेताहरूले हाम्रो नेता चुन्छन । डोमिनेट गर्दछन् । हामी उनीहरूबाट डोमिनेटेड भयौँ । स्वतन्त्र पेसा भन्ने, स्वतन्त्र पत्रकारिताको नारा दिने, अनि दलको निर्देशन नेपाली काँग्रेस, एमाले, फलानोतिलानो, माओवादी । सबको निर्देशन लिएर काम गर्ने भनेपछि कसरी हामी इन्डिपेन्डेण्ट बलियो हुनसक्छौँ रु संसारभर इन्टरनेटको प्रभाव जहाँ पनि छ । भारतमा पनि धेरै छ । इभन चाइनामा पनि हुन लागिसक्यो । उनीहरूले टिकटक नै निकालिदियो । त्यसकारण इन्टरनेटको प्रभाव हो । हामीले यो सँग जुध्न सकेनौ भन्ने साथीहरूलाई म के भन्छु भने अनुसन्धान बाटो खोज्नुभयो भने धेरै कुराहरू छन् । इन्टरनेटको प्रयोग गरेर अहिले तपाईँहरूले अनलाइन मिडिया चलाई राख्नुभएको छ । त्यसलाई व्यापारको भाँडो बन्न नदिनुस् न । त्यसलाई पत्रकारिताको निष्पक्षता जोगाई राख्नुस् न ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको संकट समाधानका लागि राष्ट्रिय बहसलाई अघि बढाउन लागिएको बताइन्








