अपि पावरको बिग मर्जर : १०० करोडको मर्स्याङ्दी बेसी आयोजनामा ट्रोयर एजीसँग सम्झौता

काठमाडौं । जलविद्युत् विकासमा आक्रामक रूपमा अगाडि बढिरहेको अपि पावर कम्पनी लिमिटेडले ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको स्वामित्व ग्रहण गर्दै इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि इटालीको प्रख्यात ट्रोयर एजीसँग सम्झौता गरेको छ । लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित यो आयोजना अपि पावरको ‘बिग मर्जर’ रणनीतिको महत्त्वपूर्ण हिस्सा हो ।

हालै सम्पन्न सम्झौताअनुसार, ट्रोयर एजीले मर्स्याङ्दी बेसी आयोजनाका लागि आवश्यक सम्पूर्ण इलेक्ट्रो–मेकानिकल उपकरणको आपूर्ति र जडान गर्नेछ । यो सम्झौतामा ट्रोयर एजी इटालीका प्रमुख बिक्री विभाग प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, ट्रोयर हाइड्रो प्रा.लि. भारतका अध्यक्ष पवन ढकाल र दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरे । दिव्य ज्योति हाइड्रोपावर लिमिटेड नै मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हो, जसको सम्पूर्ण सेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गर्ने निर्णय गरिसकेको छ ।

ट्रोयर एजीका लागि यो आयोजना नेपालमा जडान हुने सबैभन्दा ठूलो फ्रान्सिस टर्बाइनमध्ये एक हुनेछ । नेपालमा ट्रोयरले यसअघि नै सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजनाहरू अन्तिम चरणको जडान तथा परीक्षण प्रक्रियामा छन् । ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) जस्ता अन्य आयोजनाहरू पनि डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ ।

नेपालमा आफ्नो दीर्घकालीन सेवा र प्राविधिक सहयोगलाई सुदृढ गर्न ट्रोयरले हालै काठमाडौंमा एक वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको छ । यसबाट ग्राहकलाई समयमै सहयोग र मर्मत–सम्भार सेवा उपलब्ध हुने कम्पनीले अपेक्षा गरेको छ ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य सम्पन्न गरी आयोजनालाई विद्युत उत्पादनका लागि तयार अवस्थामा पुर्‍याउनेछ । यसपछि मर्स्याङ्दी बेसी आयोजना व्यावसायिक उत्पादनमा आउनेछ ।

करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) अनुमानित लागत रहेको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ । आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ । यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेडको सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गर्नुअघि आर्थिक र प्राविधिक मूल्यांकन गरेको थियो । मूल्यांकनपश्चात् उपयुक्त देखिएकोले अब उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =