अब निजी क्याम्पसहरूमा समेत अनेरास्ववियु पस्छ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० अब निजी क्याम्पस र विद्यालयहरूमा पनि प्रवेश गर्ने टिप्पणी गरेका छन् ।
सोमवार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई विदेशी एजेन्सीहरूले बिगार्न नपाउने चेतावनी समेत दिए । उनले विदेशी एजेन्टद्वारा सञ्चालित क्याम्पस तथा विद्यालयहरूले विद्यार्थीको मनोवृत्ति बिगार्ने काम गरेको आरोप पनि लगाए ।
उनले भने ‘अब प्राइभेट क्याम्पसहरूमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पस्छ । निजी विद्यालयहरूमा पस्छ । किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्न लागेका बालबालिकाहरूलाई बिगार्ने छुट कसैलाई पनि छैन । फिस तिरेर हामीले पढाउने तपाईँहरू हाम्रा छोराछोरी बिगार्ने ? अब यो हुँदैन । अब अनरास्ववियु निजी क्यापस र विद्यालयमा पनि पस्छ । ’
उनले सकारात्मक सोच भएका व्यक्तिहरूको मात्र संगत गर्न समेत युवापंक्तिलाई आग्रह गरे ।








