नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भीम रावलको अन्तिम तयारी

काठमाडौं । एमालेबाट निष्कासनमा परेका नेता भिम रावल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध हुने अन्तिम चरणको तयारीमा रहेका छन् ।

आइतबार साँझ भएको छलफलमा रावल, प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला र भानुभक्त जोशीबीच सकारात्मक वार्ता भएको स्रोतले जनाएको छ । सहमति नभत्किए केही दिनभित्रै रावल औपचारिक रूपमा नयाँ पार्टीमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।

गत साता १० दलको एकता घोषणा कार्यक्रममा नै रावललाई समेट्ने तयारी भए पनि अन्तिम क्षणमा सहमति नजुटेकाले त्यो सम्भव भएको थिएन । अहिले भने छलफल टुंगोमा पुग्ने चरणमा पुगेको नेताहरूले बताएका छन् ।

एमालेले गत वर्ष पुसमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै रावललाई निष्कासन गरेको थियो । त्यसपछि उनले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै अलग राजनीतिक यात्रा थालेका थिए ।

छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार, रावलसँगको कुराकानी सकारात्मक दिशामा अघि बढिरहेको छ ।

“हामी विभिन्न नेताहरूसँग निरन्तर संवादमा छौं,” ज्वालाले भने, “भिम रावलसँग पनि छलफल भएको छ, र त्यो उत्साहजनक छ ।”

यसैबीच, नयाँ पार्टीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का केही नेताहरूसँग पनि एकता सम्भावनाबारे कुरा अघि बढाएको छ ।

जसपाका एक नेताका अनुसार, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू एकीकृत कम्युनिस्ट मोर्चाको पक्षमा छन्, तर अशोक राई भने पुनः कम्युनिस्ट दलमा फर्किन हिचकिचाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =