‘जेन–जी समूहहरू नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ले चल्न थाले, एकता असम्भव’

काठमाडौं । जेन–जी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेन–जी समूहहरूले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेन–जी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरूले यस्तो आरोप लगाएका हुन् ।
जेन–जी समूहहरूको विभाजन र स्वार्थी प्रवृत्तिका कारण जेन–जी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे ।
जेन–जी प्रतिनिधि अबिन मयाङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भएपनि केही जेन–जी समूहहरू सत्ताकै पछि दौडिरहेको आरोप लगाए ।
उनले जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भएपनि कोही जेन–जी समूह वा व्यक्ति सहभागी नभएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने, ‘हामीले तीन वटा मुद्दा बोकेर आन्दोलन गरेका हौं । तीन मुद्दाबाट केही जेनजी अगुवा भन्नेहरूले चार वटामा किन सारिराखेको ? हामीले हिजो मात्रै पनि जेनजी समूहको एकताका लागि प्रयास गर्यौं । सबैलाई आह्वान गर्यौं कोही आउनुभएन । उहाँहरू स्वार्थी समूहहरू हो । उहाँहरू आउनुहुन्न । जेन–जी भन्नेहरूलाई पार्टी, एनजीओ र आईएनजीओहरुले पछाडिबाट फण्डिङ गरेको छ । आयो भने भोलिको दिनमा फण्डिङ रोकिन्छ । त्यसकारण एकता सम्भव छैन । यदि एकताका लागि सबै जेन–जी समूहहरू आउनुहुन्छ भने हामी एकताका लागि तयार छौं ।’
जेन–जीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राखिन् । उनले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२ सालमा गर्नको लागि मात्र आफूहरूले आन्दोलन नगरेको स्पष्ट पारिन् ।
उनले जेन–जी आन्दोलनले उठाएका मागहरू सम्बोधन नभए फेरी आन्दोलनमा जाने चेतावनी समेत दिइन् । उनले जेन–जी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिएपनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाइन् ।
उनले भनिन्, ‘२०८४ सालमा हुने चुनाव २०८२ मै गर्नको लागि त हाम्रा साथीहरू रगत बगाउनु भएको होइन । चुनाव मात्रै गरेर देशको अहिलेको समस्याहरू हल हुन्छन् त ? हाम्रा कतिपय साथीहरू जेनजीहरुको युनिफिकेसनको लागि कामहरू गरिरहनुभएको छ । यदि जेनजीले उठाएका मागहरू सम्बोधन हुने स्थिति भएन भने सबै जेन–जी समूह मिलेर हामी फेरि आन्दोलन गर्नुपर्ने स्थिति आउनसक्छ । हामीले जेजनीका माग र शहीदलाई न्याय दिनको लागि प्रधानमन्त्रीज्यूलाई निवेदन दियौं तर उहाँहरूको आश्वासन फिक्का हुँदै गइरहेका छन् ।’
त्यस्तै, ज्योतिका फुर्केलीले जेन–जी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताइन् । उनले जेन–जी आन्दोलनले निकास नपाए समाजमा जेन–जी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताइन् ।
उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गरिन् ।
उनले भनिन्, ‘हामी ले मुलुकको आमुल परिवर्तनको लागि आन्दोलन गर्यौँ । अहिले जेन–जी अभियानहरू नै एक आपसमा बाझिँदा पुरानै राजनीतिक शक्तिहरू राज्यसत्तामा आउन तयारी अवस्थामा छन् । हामी जेन–जीहरूलाई त उनीहरूले अहिले नै आतंककारी घोषणा गरिसकेका छन् । अहिले गाउँमा जेनजी भन्यो भने आतंककारी भन्ने स्थिति सिर्जना हुनुमा हामीहरूकै हात छ नि । त्यसैले अब हामी सबै एकजुट भएर जेनजी आन्दोलनका मागहरू पूरा गर्नतर्फ अगाडि बढ्नुपर्छ ।’
फुर्केलीले सबै जेन–जी समूहलाई एकजुट भई मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गरिन् ।








