विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सोनल, यस्तो छ अंक गणित

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री सोनलले प्रदेशसभाको आज बस्ने बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् ।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामापछि गत असोज २९ गते ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोनललाई उनको दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ ।

सरकारमा दाबी पेस गर्दा ५ दलको समर्थन रहे पनि हाल नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत सोनल नेतृत्वको सरकारलाई समर्थन जनाएका छन् । यससँगै सोनल सरकारको पक्षमा ५७ मतको समर्थन देखिएको छ । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना प्रदेशसभा सदस्य कायम छन् । मुख्यमन्त्री सोनललाई विश्वासको मत प्राप्त गर्नका लागि प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत आवश्यक पर्नेछ ।

हाल सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा देखिएका छन् । यसको विपरीत प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भने विपक्षमा छन् ।

यसैबीच, जनमत पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमतबाट फुटेर बनेको जनस्वराज पार्टीतर्फ लागेकाले उनीहरूको मत कता जान्छ भन्ने स्पष्ट भइसकेको छैन । यस्तै, जसपा नेपालका एक जना प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा निलम्बनमा रहेकाले उनले विश्वासको मत दिन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =